×

वीरगञ्ज ९ भदौँ । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड अस्पताल गण्डकमा मंगलबार दुई जनाको मृत्यु भएको छ । गण्डक अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भई उपचार गराई रहेका बारा जिल्लाको दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बाराको विश्रामपुर गाउँपालिका-५ का ७२ वर्षीय पुरुष र महागढीमाई नगरपालिका- ४ का ५९ वर्षीय पुरुष रहेका छन् ।

विश्रामपुरका ७२ वर्षीय पुरुषको कोभिड अस्पतालमा मंगलबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।

कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएपछि उपचारका लागि उनलाई परिवारले सोमबार वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा ल्याएर भर्ना गरेका थिए।

उनमा ज्वरोका साथै श्वासप्रश्वासको पनि समस्या रहेको र उपचारका क्रममा मङगलबार बिहान ६ बजे मृत्यु भएको चौरसीयाले जानकारी दिए।

यस्तै गण्डक कोभिड अस्पतालमै बाराको महागढीमाई नगरपालिका ४ का ५९ वर्षीय पुरुषको पनि उपचारका क्रममा मंगलबार बिहान साढे ९ बजे मृत्यु भएको छ।

कोरोना संक्रमण पुष्टि भएपछि भदौ ४ गतेदेखि गण्डक कोभिड अस्पतालमा भर्ना भएका ती संक्रमित पुरुषमा पनि निमोनियाको समस्या रहेको र उपचारका क्रममा मृत्यु भएको चौरसीयाले जानकारी दिए।

योसँगै वीरगञ्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४० पुगेको छ। साउन यतामा मात्रै ३६ जनाको मृत्यु भएको हो।

वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ४० मध्ये १ युवकको पहिचान खुलेको छैन। वीरगञ्जमा पर्साका ३१, बाराका ७ र रौतहटका २ जनाको मृत्यु भएको हो।

Back to top