×

वीरगञ्ज ९ भदौ । वीरगञ्जस्थित नारायणी अस्पतालका नियमित सेवाहरु क्रमिक रुपमा सुचारु हुँदै गएका छन् । अस्पतालका नव नियुक्त प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले पछिल्लो एक हफ्तादेखि अस्पतालका सेवाहरू क्रमिकरूपले सुचारु भइरहेको बताएका छन् ।

निषेधाज्ञा र सङ्क्रमण फैलिएर अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीहरू सङ्क्रमित भएपछि आकस्मिक सेवाबाहेक बन्द भएका अन्य सेवाहरू क्रमिकरूपले शुरू भइरहेको प्रवक्ता चौरसियाले बताए । उनले ७० भन्दा बढी चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी सङ्क्रमित भएको र अहिले क्रमिकरूपमा उनीहरूमा सुधार आएपछि सेवाहरू पनि सुचारु हुँदै गएको बताएका छन्।

अस्पतालले आकस्मिक सेवाबाहेक अहिले प्रसूति, एनआइसियू, शल्यक्रिया कक्ष, मिर्गौलाको डायलोसिसलगायतका सेवा सुचारु गरेको उनले बताए । तत्काललाई प्रसूति भएका महिलाहरूको लागि शल्यक्रिया कक्ष सुचारु गरिएको उनले प्रस्ट्याएका छन् ।

सामान्य शल्यक्रियाको लागि अझै केही दिन लाग्ने उनले बताए । निषेधाज्ञाको कारण ओपिडी सेवा सञ्चालनमा समस्या भएको भन्दै उनले निषेधाज्ञा हट्नासाथ ओपिडी सेवा पनि सञ्चालनमा आउने बताए । अस्पतालले आकस्मिक सेवासँगै २० शय्याको अब्जर्भेसन कक्ष सञ्चालनमा ल्याएको प्रवक्ता चौरसिया जानकारी गराएका छन्।

लकडाउन शुरू भएपछि वीरगञ्जमा आइसोलेशनको अभावमा नारायणी अस्पताललाई कोभिड अस्पताल घोषित गरिएको थियो।

त्यसको एक महीनापछि जनरल सेवा शुरू भएको नारायणीलाई पुनः कोभिड बनाउन मन्त्रालयले पत्राचार गरेको थियो तर स्थानीय राजनीतिक दल, नागरिक समाज, विभिन्न सङ्घसंस्थाबाट नारायणीलाई कोभिड अस्पताल बनाउने सरकारको निर्णयको विरोध भएपछि जनरल सेवा थपिंदै गएको हो। दोस्रोपटक कोभिड अस्पताल बनाउनको लागि अस्पतालको आकस्मिकबाहेक सबै सेवा ठप्प गरिएको थियो।

Back to top