×

वीरगञ्ज ९ भदौ । पोखरिया अस्पतालमा कार्यरत २५ जना चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारीमध्ये १६ जना सङ्क्रमित भएपछि अस्पतालको आकस्मिक सेवाबाहेक सबै सेवा बन्द भएको छ ।

मेडिकल सुपरिटेन्डेन्ट डा अनिल यादवसहित चारजना चिकित्सक, अहेब, अनमी, स्टाफ नर्स एक/एक जना, फार्मेसीका चारजना कर्मचारी, दुर्ईजना कार्यालय सहयोगी, एकजना सफाइ कर्मचारी र एकजना चालक गरी १६ जना सङ्क्रमित भएका छन्।

साउन २३ र २५ गते सङ्क्रमित भएका उनीहरूमध्ये चारजना चिकित्सक, चारजना स्वास्थ्यकर्मीसमेत नौजना अस्पतालको क्वार्टरमा आइसोलेट भएका छन् भने सातजना अस्पतालको आइसोलेशनमा भर्ना छन्। सङ्क्रमित सबैजनामा कोरोनाको लक्षण देखिएको छैन।

पोखरियामा कुल ६२ जना सङ्क्रमित

पोखरिया नगरपालिकामा अहिले कुल ६२ जना सङ्क्रमित छन्। नगरप्रमुख दीपनारायण रौनियारसहित उनका परिवारजन, ६ जना वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अमित गिरी, नगरप्रमुखका स्वकीय सचिव गरेर ६२ जना सङ्क्रमित छन्। सङ्क्रमितमध्ये २६ जना पोखरिया अस्पतालको आइसोलेशनमा र नौजना क्वार्टरमा आइसोलेट छन् भने ३१ जना घरमा आइसोलेट छन्। घरमा आइसोलेट हुनेमा नगरप्रमुख रौनियार र उनका परिवारजन, दुईजना वडाध्यक्ष, स्वकीय सचिवसमेत ३१ जना छन्।

आइसोलेशन र खाजा/खानामा परिवर्तन

पोखरिया अस्पतालमा रहेको आइसोलेशन र त्यहाँका सङ्क्रमितलाई दिइने खाजा/खानामा अहिले परिवर्तन गरिएको छ। साउन २३ गतेदेखि पोखरिया अस्पतालले २५ शय्याको आइसोलेशन सञ्चालनमा ल्याएको हो। प्रदेश सरकारको आर्थिक सहयोगमा सञ्चालित आइसोलेशनमा खाजा/खानाको व्यवस्थापन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं वडाध्यक्ष लछुमनसाह कानूले गराएका थिए। दुर्ई समय खाजा र दुई समय शाकाहारी खानाको व्यवस्था गरिएको थियो। तर साउन २५ गते कानूसमेत ६ जना वडाध्यक्ष सङ्क्रमित भएर चारजना अस्पतालको आइसोलेशनमा भर्ना भएपछि आइसोलेशनमा खाजा र खानामा परिवर्तन भएको छ।

नयाँ सञ्चालित आइसोलेशनमा चारवटा कोठा छन्, जसमा २५ शय्या छ। त्यहा प्रत्येक कोठामा चारवटा पङ्खा जडान गरिएको थियो। अहिले थप चारवटा पङ्खा जडान गरिएको छ। सिलिङ पङ्खाको हावा पर्याप्त नभएको भन्दै वडाध्यक्षहरूको दबाबमा स्ट्यान्ड पङ्खा जडान गरिएको छ। यसैगरी, २५ शय्याको आइसोलेशनमा एक शय्या थप गरी २६ शय्याको बनाइएको छ। यसका साथै खाजा र खानाको मेनु पनि परिवर्तन गरिएको छ। बिहानको नास्तामा दूध, पाउरोटी र साँझको नास्तामा कहिले पुरी/तरकारी, कहिले भुजा/पकौडा दिने गरिएकोमा वडाध्यक्षहरू भर्ना भएपछि बिहान चिया, पाउरोटी त्यसपछि रोटी, चना/पनिरको तरकारी, अन्डा, स्याउ र दूधको व्यवस्था गरिएको छ।

यसैगरी, सातामा दुईपटक मांसहारी भोजनको व्यवस्था गरिएको छ। यसबाहेक पाँच दिन शाकाहारी खानामा तीन थोक तरकारी, पापड, सलादको पनि व्यवस्था गरिएको छ। कोरोनासँग लड्नका लागि तागतिलो खाना खानुपर्ने वडाध्यक्षहरूको भनाइ छ। वडाध्यक्षहरूको कारण आइसोलेशनमा भर्ना भएकाहरूलाई अहिले खाजा र खानाको राम्रो प्रबन्ध भएको छ।

प्रतीक दैनिकबाट साभार।

Back to top