×

वीरगञ्ज ९ भदौं । केही समयअघिसम्म वीरगञ्ज महानगरपालिका मेयर विजयकुमार सरावगी कोरोना संक्रमित थिए। सुरूदेखि नै कोरोना भाइरसको ‘हटस्पट’ बनेको वीरगञ्जमा काम गर्दागर्दै उनी संक्रमित भएका थिए।

सुरूमा संक्रमण देखिएका बाँकेको नरैनापुर, उदयपुरजस्ता ठाउँमा कोरोना संक्रमण नियन्त्रण आए पनि वीरगञ्जमा दिनदिनै अवस्था झन् जटिल बनेपछि गृह मन्त्रालयले केही साताअघि पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लाई काठमाडौं झिकाएर नयाँ सिडिओ पठाएको थियो।

पर्सामा नयाँ सिडिओ बनेर आस्मान तामाङ गएका छन्। मेयर सरावगी पनि कोरोना जितेर काठमाडौंबाट वीरगञ्ज फर्किएका छन्।

मेयर सरावगी र सिडिओ तामाङ महिना दिनभित्र वीरगञ्जलाई ‘ग्रिन जोन’ मा ल्याउने भन्दै अहिले काममा जुटेका छन्।

‘मैले एक महिना अगाडि नै यो प्रस्ताव गरेको थिएँ। तर पछि मलाई नै संक्रमण भएपछि यसमा काम गर्न सकिएन। अहिले म निको भएर फर्किएको छु। अब एक महिनाभित्र वीरगञ्जलाई ‘ग्रीन जोन’ मा ल्याउने गरी काम गर्छौं,’ मेयर सरावगीले भने।

सरावगी र तामाङले ‘ग्रीन जोन’ मा ल्याउँछौं भनेको वीरगञ्ज अहिले ‘रेड जोन’ मा छ।

अहिले देशमा कोरोनाको भयावह स्थिति देखिएको भनेकै वीरगञ्जमा हो। वीरगञ्जमा मात्र कोरोनाका कारण २८ जनाको मृत्यु भएको छ। दैनिक सयौंको संख्यामा नयाँ संक्रमित थपिरहेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार ‘ग्रीन जोन’ ले सुरक्षित स्थानलाई संकेत गर्छ। झन्डै एक महिनासम्म नयाँ संक्रमित नभेटिएका क्षेत्र ग्रीन जोन हुने भनिएको छ।

यस्तो स्थितिमा एक महिना भित्रै वीरगञ्जलाई ग्रीन जोनमा ल्याउन चुनौतीको पहाड पन्छ्याउनुपर्छ।

वीरगञ्जमा अहिलेसम्म दुई हजारमा संक्रमण पुष्टि भएको छ। जसमध्ये ५ सय ८४ जना सक्रिय संक्रमित छन्।

अहिले सक्रिय संक्रमितको उचित व्यवस्थापन गर्न सकिएको छैन। अधिकांश संक्रमित अहिले पनि ‘होम आइसोलेसन’ मा बसिरहेका छन्। संक्रमितहरूले सहजै अस्पतालमा भर्ना हुन पाउने स्थिति छैन। भएका दुईटा कोभिड अस्पताल भरिएका छन्।

केही समयअघि मात्र एकजना युवती उपचारका लागि दश ठाउँ अस्पताल चाहर्दै भौतारिन्। अन्तिममा गण्डक अस्पतालमा भर्ना भएकी उनले त्यहीँ अन्तिम सास फेरिन्। मृत्युपछि उनलाई कोरोना पोजेटिभ देखियो।

पर्साका प्रमुख जिल्ला अधिकारी तामाङ भन्छन्, ‘हिजो त्यो स्थिति थियो होला तर अब हुँदैन। कुनै पनि बिरामी घुमाएर हिँड्न पर्दैन। त्यसको अन्य हुन्छ।’

उनले अब कोरोना शंकास्पद बिरामीका लागि नारायणी र गण्डक अस्पतालमा ‘स्क्रिनिङ कक्ष’ को व्यवस्था गरिएको बताए।

‘यी दुई अस्पतालमा जम्मा २१ बेडको ‘स्क्रिनिङ’ गर्ने गरी व्यवस्थापन गरेका छौं,’ प्रजिअ तामाङले भने, ‘अब जो कोही पनि शंकास्पद व्यक्ति यहीँ आउनुहुन्छ। यहीँ राखेर उहाँहरूलाई निगरानी गरिन्छ र पछि संक्रमण पुष्टि भयो भने आइसोलेसनमा सारिन्छ र नेगेटिभ आयो भने अन्य उपचार गरिन्छ।’

वीरगञ्जलाई एक महिनाभित्रै ‘ग्रीन जोन’ मा ल्याउन निषेधज्ञालाई पनि कडा पारिएको उनले बताए।

‘हामीले निषेधज्ञालाई एकदम कडा पारेका छौं। अनावश्यक आवतजवात हुन दिएका छैनौं,’ उनले भने।

भारतसँगको सीमा पनि कडाइ बनाइएको उनले बताए।

वीरगञ्ज औद्योगिक क्षेत्र भएकाले संक्रमण नियन्त्रणमा समस्या भएको प्रजिअ तामाङ बताउँछन्। अहिले भने ती कुरालाई पनि व्यवस्थापन गरिएको उनको दाबी छ। यसअघि पनि भारतबाट लुकिछिपी कामदारहरू आउने गर्दा समुदायमा संक्रमण झन् फैलिएको बताइएको थियो।

‘अहिले सीमामा कडाइ गरिएको छ। कसैलाई पनि छिर्न दिइएको छैन,’ उनले भने, ‘मालवाहक गाडी दैनिक ४ सयको हारहारीमा आउँछन्। हामीले त्यसमा आउने ८ सय मानिसलाई पनि अन्य ठाउँमा आवतजावत गर्न दिएका छैनौं। गाडीभित्रै बस्न अनुरोध गरेका छौं।’

वीरगञ्जमा अधिकांश उद्योग बन्द छन्। केही उद्योग भने स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालनमा छन्।

‘प्रोटोकल मान्न तयार उद्योगहरूलाई मात्र सञ्चालनको अनुमति दिइएको छ। प्रोटोकल नमान्ने उद्योगलाई भने सञ्चालन अनुमति दिँदैनौं,’ तामाङले भने।

तामाङले संक्रमितहरूको व्यवस्थापन र संक्रमण नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ कार्यलाई थप चुस्त बनाइने बताए। उनले कन्ट्याक्ट ट्रेसिङको थप सशक्त टिम गठन गरिएको भन्दै अब ट्रेसिङमा परेका मानिसहरूलाई क्वारेन्टिनमा राख्ने तयारी गरिएको जनाए।

साथै संक्रमिहरूलाई उपचार गर्नका लागि कोभिड बेड थप्ने तयाररी पनि गरिेएको छ। अहिले वीरगञ्जमा गण्डक अस्पताल र नारायणी हेल्थ केयरलाई कोभिड अस्पताल बनाएर संक्रमितको उपचार गरिराखिएको छ। यी दुईटा अस्पतालको क्षमता २१० बेड हो।

तामाङ भन्छन्, ‘हामीले थप २६० बेड थप्ने तयारी गरेका छौं। त्यसको लागि आसाराम नर्सिङ अस्पताल र बाबा अस्पताललाई कोभिड अस्पताल बनाउने तयारी छ। छिट्टै सम्झौता हुन्छ। त्यो भयो भने हामीसँग जम्मा ४७० बेड क्षमता हुन्छ।’

कम्युनिटी आइसोलेसन विस्तार गर्ने गरी काम पनि सुरू गरिएको छ। अहिले जम्मा ६ सय ४० बेडको कम्युनिटी आइसोलेसन रहेकामा ४ सय ६ बेड भरिएका छन्। यही क्षमतालाई विस्तार गरेर कम्तिमा एक हजार बढी आइसोलेसन बनाउने तयारी गरिएको छ। जसका लागि निजी विद्यालय र होटलहरूलाई समेत प्रयोग गर्ने गरी छलफल अघि बढाइएको प्रजिअ तामाङले बताए।

चिकित्सकहरूले वीरगञ्जमा आइसियू र भेन्टिलेटरको अभाव भएको बताउँदै आएका छन्। प्रजिअ तामङले आइसियूलाई पनि विस्तार गर्ने तयारी भइरहेको जानकारी दिए। उनी भन्छन्, ‘अहिले ३९ वटा आइसियू छन्। बढाउन हामीलाई कुनै पनि समस्या छैन। गाह्रो भनेको भेन्टिलेटर हो। अहिले जम्मा १० वटा भेन्टिलेटर छ। त्यो पनि हामी कसरी विस्तार गर्ने भनेर छलफल गरिहरहेका छौं।’

संक्रमितहरूको व्यवस्थापन गर्नलाई छुट्टै मेडिकल टाक्स फोर्स गठन गरिने उनले बताए।

सबैभन्दा चुनौती नै संक्रमितहरूको व्यवस्थापन गर्ने रहेको अनुभव सुनाउँदै उनले भने, ‘गाह्रो भनेकै संक्रमितको व्यवस्थापन हुने रैछ। संक्रमण पुष्टि हुनेबित्तिकै आवश्यकता हेरेर होम आइसोलेसन वा अस्पताल भर्ना गर्नुपर्ने र उनीहरूको क्लोज कन्ट्याक्टमा रहेका मानिसहरूलाई पनि तत्काल आइसोलेट गर्नुपर्ने हुन्छ। मुख्य चुनौती भनेकै यहीँ हो।’

अब यो सबै कामको नेतृत्व मेडिकल टाक्स फोर्सले लिने उनले बताए। अहिले यसको नेतृत्व नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्टले गरेको भए पनि उनैले टिमको संयोजक तोक्ने भनिएको छ। यो टिमले संक्रमितहरूलाई अस्पताल पुर्‍याउने, उपचारको निगरानी गर्ने, स्वास्थ्यकर्मीहरूको व्यवस्थापन हेर्ने र होम आइसोलेसनमा रहेकाहरूको पनि निगरानी गर्नेछ।

वीरगञ्जमा परीक्षणको दायरालाई पनि बढाइने भनिएको छ। अहिले भइरहेको प्रयोगशालाको परीक्षण क्षमता नै बढाइने प्रजिअ तामाङ बताउँछन्। त्यसका लागि थप एउटा पिसिआर मेसिन खरिद गर्ने काम अघि बढाइएको छ। नयाँ मेसिन आउनसाथ दैनिक प्रयोगशालाको क्षमता एक हजार पुग्ने दाबी गरिएको छ।

मयेर सरावगीले पनि परीक्षणको दायरालाई व्यापक पार्न लागिएको बताए।

उनले ‘एक घर एक परीक्षण’ को नीति अनुसार परीक्षण अगाडि बढाइने बताए।

‘यसअघि नै यो काम अघि बढाइएको भएपनि बीच विविध कारणले निरन्तरता पाउन सकेन। अब भने फेरी यसलाई सुचारू गर्ने भनेका छौं,’ उनले भने।

उनले वीरगञ्जमा संक्रमण नियन्त्रणमा संघीय र प्रदेश सरकारबाट सहयोग नपुगेको बताए। ‘प्रदेशले कोभिड अस्पताल बनाउन सहयोग गर्ने र भेन्टिलेटर दिने भन्यो तर अहिलेसम्म त्यो भएन। संघीय सरकारबाट पनि आजसम्म कुनै सहयोग भएको छैन,’ उनले गुनासो पोखे।

वीरगञ्जमा अकाल पनि धेरै संक्रमितले ज्यान गुमाएको भन्दै त्यसको जिम्मेवारीवोध सबैले गरेर अब हातेमालो गरेर अगाडि बढ्नु पर्नेमा मेयर सरावगीले जोड दिए। गएको २८ दिनमा धेरै संक्रमितले ज्यान मुगाएको भन्दै सरावगीले अब यस्तो हुन नदिन उचित व्यवस्थापनमा जोड दिनुपर्ने बताए।

‘मैले पहिला नै संघीय सरकारले सीमा कडाइ गर्नुपर्‍यो नत्र स्थिति भयावह हुन्छ भनेको थिएँ। त्योबेला कुरा नसुन्दा आज वीरगञ्जको यो हालत छ,’ सरावगीले भने, ‘पछि त म आफैं संक्रमित भएपछि काममा असर पुग्यो। १२ दिनको आइसियू उपचारपछि म २८ दिनमा निको भएर काममा फर्किएको छु। अब एक महिनाभित्र वीरगञ्जलाई ‘ग्रीन जोन’ मा ल्याउने हिसाबले काम हुन्छ।’

सेतोपाटि डटकमबाट साभार ।

Back to top