वीरगञ्ज ९ भदौं । पर्साको स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका कारण हाथ मुख जोड्न अफ्ठ्यारोमा परेकाहरुलाई विगत चार दिनदेखि भोजन गराउँदै आएको नेपाल विद्यार्थी संघले आज पाँचौं दिनपनि कार्य जारी राखेको छ ।
प्रशासनले लगभग एक महिना भन्दा बढी समयदेखि वीरगञ्जमा लगाएको निषेधाज्ञाका कारण गरिब र दैनिक ज्यालादारी गरी आफ्नो जिविको पार्जन गर्ने समस्यामा परेका छन् । स्थानीय प्रशासनले निषेधाज्ञा लगाएपनि उनीहरुको व्यवस्थापनका लागि कुनै कदम नचालेको देखिएको छ ।
भोकै जीवन मरणको कगारमा पुगेका नगरका विभिन्न स्थानका परिवारहरुका लागि नेविसंघ साधु बनेर बाहिर आएको छ । नेविसंघका पुर्व जिल्ला अध्यक्ष राकेश यादवबाट प्रेरणा प्राप्त गरेर ठाकुरराम बहुमुखी क्याम्पसका एकाई अध्यक्ष मनोज साह र जिल्ला ध्यक्ष विकास तिवारीले वीरगञ्जका विभिन्न स्थानमा पुगेर खाद्यान्न वितरण गरिरहेका छन् ।
विद्यार्थी नेताहरुले विगत पाँच दिनमा एक हजार भन्दा पनि बढी परिवारलाई सहयोग गर्न सफल भएको बताएका छन् । उनीहरुले दैनिक २ सयदेखि ३ सय परिवारसम्मका लागि आफुहरुले खाद्यान्न उपलब्ध गराउँदै आएको बताए ।
'स्थानीय प्रशासनले लकडाउन मात्र लगायो, लकडाउनका कारण समस्यामा पर्ने जनताको बारेमा सोचेन, उनीहरुलाई भोकले मर्न यतिकै छोड्यो,' विद्यार्थी नेता मनोज साहले भने, 'त्यस्ता भोक भोकै बस्नेहरुलाई सहयोग गर्न हामीले सानो भएपनि एउटा अभियान चलाएका छौं, अभियान मार्फत अहिलेसम्म एक हजार परिवारको पेट भर्न सफल भएका छौं ।'
विद्यार्थी नेताहरुले लकडाउन अन्त्य नभएसम्म आफुहरुले यसरीनै सहयोग जारी राख्ने प्रतिबद्दता समेत व्यक्त गरेका छन् । खाद्यान्न वितरण गर्ने क्रममा अनजन गुप्ता बाबुनन्द पटेल, राजा गुप्ता, रबि साह, चन्दन सिंह, राहुल शर्मालगायतले सहयोग गरेका थिए ।