वीरगञ्ज ९ भदौं । प्रहरी चौकी बहुअर्वा भाठाका प्रहरी हवलदार सुबोध यादवले वर्दीको धाक देखाउँदै स्थानीयलाई दु:ख दिएको गुनासो आएको छ ।
पर्साको विन्दावासिनी गाउँपालिकामा पर्ने उक्त चौकीमा कार्यरत हवलदार यादवले स्थानीयलाई डराई धम्काई अवैध उसुली गर्दै आएको गुनासोहरु बढ्न थालेका छन् । लकडाउनको समयमा बहुअर्वा भाठा चौक, विश्रामपुर र गर्दाैललगायतका स्थानीय साना व्यवसायीसँग यादवले पैसा उसुली गरिरहेको स्थानीयहरुले गुनासो गरेका हुन् ।
प्रहरी प्रशासन जनताको रक्षक भए पनि पछिल्लो समयको लकडाउनको बेला बहुअर्वा, गर्दाैल र विश्रामपुर गाउँका स्थानीयमाथि अपराधीजस्तो अन्धाधुन्ध लठ्ठी प्रहार गरी आफूप्रति जनतामा भय, डर र त्रास देखाएर हवलदार यादव अहिले खुद्रा पसले अथवा सानो व्यवसायीहरूसँग पैसा असुली गरी व्यवसाय सञ्चालन गर्न दिइरहेको स्थानीयले दुःखेसो पोखेका छन् ।
बहुअर्वा भाठ्ठा प्रहरी चौकीमा असई भए पनि चौकीका सबै कमान्ड हवलदार सुबोध यादवले नै चलाउने गरेकोले असईसँग गुनासो गर्ने सर्वसाधारणलाई समेत कुटपिट गरी लुटपाट मचाएको व्यवसायीहरूको गुनासो छ । कुनै कुनै व्यवसायीले पैसा दिन नमान्दा लकडाउनको बाहानामा कुठाराघात तरिकाले कुटपिट गरी सरसमानालाई समेत फाल्ने गरेको स्थानीयले बताएका छन् ।
पर्सामा पहिलोपटक महिला प्रहरी प्रमुखको कमान्डमा आएकी एसपी गंगा पन्त पर्सामा आएको बेला भय, डर र त्रासरहित आमनागरिकलाई सबै कुरो बोल्नसक्ने वातावरण सिर्जना गर्ने दाबी गरेकी भए पनि हवलदार यादवको दादागिरीले पीडित व्यापारी नामसमेत राख्नबाट यतिबेला त्राहिमाम भएका छन् ।
कोरोना महामारीमा जारी लकडाउनको बेला स्थानीयमाथि लठ्ठी प्रहार गरी आफ्नो पहुँच माथिसम्म भएकोले कसैले पनि मेरो केही गर्न नसक्नेजस्ता कुराले धम्काउँदै जनताको रक्षक हुने हवलदार यादव अहिले जनताको भक्षक भएका छन् ।
स्रोतले बताएअनुसार माथिसम्म पहुँच भएको तस्कर गिरोहले पनि हवलदार यादवलाई सघाउने गरेकोले सरुवा भए पनि अहिले उनलाई रोकिएर राखिएको छ ।