वीरगञ्ज ९ भदौं । वीरगञ्जस्थित नारायण वयोधा अस्पतालमा कार्यरत विष्णु पटेल हाल कोरोनाभाइरस अर्थात कोभिड-१९ बाट संक्रमित भइ आइसोलेसनमा छन् ।
अस्पतालमा काम गर्ने क्रममा संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएको कारण उनमा पनि संक्रमण सरेको उनको बुझाई छ । हुनपनि फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मी पछिल्लो समय संक्रमित हुने क्रम बढ्दो छ । विष्णु वयोधा अस्पतालको प्रशासन शाखामा कार्यरत थिए ।
अरुको सेवाका लागि आफ्नो ज्यानलाई जोखिममा राखेर काम गरिरहेका विष्णु संक्रमित भएपछि सुरुमा अलिकति आत्तिएको बताउँछन् । 'सुरुमा रिपोर्ट पोजेटिभ आयो भनेर सुन्दा अलि मन घबरायो तर उच्च आत्मबल र हिम्मतले कोरोना जित्न सकिन्छ भनेर पढेको र सुनेको कारण आफ्नो मनलाई अलिकति शान्त गरे,' विष्णु सुनाउँछन्, 'त्यसपछि परिवारको सदस्यलाई खबर गरे र हाल आइसोलेसनमा बसिरहेको छु ।'
जनता समाजवादी पार्टी युवा दस्ताका पर्सा जिल्ला अध्यक्ष समेत रहेका उनि विगत १३ दिनदेखि संक्रमित भइ आइसोलेसनमा बसिरहेका छन् । चिकित्सकको सल्लहा अनुसार पोषिलो खाने कुरादेखि नियमित व्यायाम समेत गर्दै छन् । दिनमा धेरैभन्दा धेरै पटक तातो पानि खाने गरेको उनि बताउँछन् र चिकित्सकले आदेश दिएअनुसार केहि औषधिपनि खाइरहेका छन् ।
कहिले काहीं परिवारको याद आउँदा दु:खि हुनेगरेको तर दुरी बनाएरनै बस्ने बाध्यताका कारण आफुसँग आरु कुनै विकल्प नभएको उनले बताए । 'आज १३ दिन भएछ परिवारको सदस्यसँग नभेटेको, उहाँहरुको धेरै याद आउँछ, घर-परिवारको महत्व के हुँदो रहेछ अहिले आएर बुझ्दै छु, तर के गर्ने? दुरी बनाएर, एक्लै बसेर मात्र रोगलाई हराउन सकिन्छ, केहि दिन अझै दु:ख गर्नुछ, त्यसपछि पारिवारसँग भेटघाट हुन्छनै भनेर आफुलाई सान्तावाना दिंदै छु ।'
आफुलाई कुनै प्रकारको लक्षण नभएको विष्णुको भनाइ छ । लक्षण नभएका उनि अस्पतालमा नगएर हाल आफु कार्यरत वयोधा अस्पतालले व्यवस्था गरेको एउटा होटलमा व्यवस्थापन गरिएको आइसोलेसनमा बसिरहेका छन् । अस्पतालको बेड बेकारमा अगोट्नु भन्दा लक्षण भएका संक्रमितको लागि खालि छोड्न उनले उपयुक्त ठाने ।
विष्णुले उच्च मनोबल, हिम्मत, नियमित व्यायाम र पौष्टिक खानपानले कोरोनालाई पराजित गर्न सकिने बताए । उनके संक्रमण हुँदैमा नआत्तिनु अनुरोध गरे । कोरोनालाई सामान्य रुगाखोकी जस्तै व्यवहार गरे कोरोनाले पनि तपाईँ हामीसँग त्यस्तै व्यवहार गर्ने उनको बुझाई छ ।
वीरगञ्जवासीलाई विष्णुले पूर्ण सतर्कता अपनाउँदै कोरोनाबाट जोगिन आग्रह गरेका छन् । तर कुनै काराणवास संक्रमणको चपेटमा आएपनि नआत्तिएर उच्च आत्मबलका साथ् आफुलाई मानसिक रुपले स्थिर बनाउन उनले अनुरोध गरेका छन् ।