×

वीरगञ्ज ८ भदौं । नारायणी अस्पतालका नव आगन्तुक मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जय ठाकुर र वीरगञ्जको नागरिक सरोकार समाज बीचको छलफल सम्पन्न भएको छ ।

सोमबार भएको भर्चुवल छलफलमा नागरिक सरोकार समाजका अगुवाहरुले वीरगञ्जलाई ग्रिनजोन बनाउँन मास टेस्टीङ गर्दै आइसोलेसनको सङ्ख्या बढाउँनु पर्ने धारणा राखेका थिए ।

छलफलमा नागरिक सरोकार समाजको तर्फबाट बोल्दै वीरगञ्जका प्रतिष्ठित उद्योगी एवम् लायन्स क्लबका इन्टरनेसनल डाइरेक्टर सञ्जय खेतनाले वीरगञ्जमा कोरोनाभाइरसको सङ्क्रमण समुदाय स्तरमा फैलिँदै गएको कारण टेस्टीङको दायरा बढाएर आइसोलेसनको सङ्ख्या बढाउँनुको विकल्प नरहेको बताए । उनले जिल्लामा रहेका विभिन्न निजि अस्पतालहरुलाई समेत कोभिड अस्पतालमा परिणत गर्ने नीति सरकारले छिटो भन्दा छिटो ल्याउँनु पर्ने बताए ।

खेतनाले वीरगञ्जमा अक्सिजन प्लान्ट स्थपनाको लागि पहल चलिरहेको बताउँदै हालका लागि मारवाडी सेवा समितिले नि:शुल्क अक्सिजन उपलब्ध गराइरहेको जानकारी समेत गराएका थिए ।

त्यसैगरी उद्योगी एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पुर्व अध्यक्ष अशोक टेमानीले निजि क्षेत्रबाट सरकारसँग गर्न सकिने पहलका लागि आफुहरु सदैव तयार रहेको बताउँदै नारायणी अस्पतालमा सुधारका लागि मेसु ठाकुरलाई विशेष अभियान चलाउँन सुझाव दिएका थिए ।

त्यस्तै लेखक एवम् वरिष्ठ उद्योगी गणेश लाठले कोरोना सङ्क्रमणको चेन तोड्न लक्षण भएका र नभएका दुबै किसिमका कोरोना सङ्क्रमितहरुलाई आइसोलेट गर्न महत्वपूर्ण भएको बताए । लाठले नारायणी अस्पतालको नियमित सेवाहरुलाई तत्काल सुरु गर्नुपर्ने धारणा समेत राखेका थिए ।

नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सञ्जय ठाकुरले नारायणी अस्पतालको नियमित सेवाहरु सुरु गर्न आफुहरु प्रयासरत रहेको बताए । उनले हाल नारायणी अस्पतालको एक तिहाइ जनशक्ति कोरोनाबाट सङ्क्रमित भइ आइसोलेसनमा रहेको र एक तिहाइ जनशक्ति क्वारेन्टिनमा रहेको कारण अस्पताल सञ्चालनमा समस्या आएको अवगत गराएका थिए ।

डा. ठाकुरले अस्पतालमा जनरल सेवाहरु सुचारु गर्दा स्वास्थ्यकर्मी र विशेषगरी फ्रन्टलाइनमा खटिरहेका चिकित्सक सङ्क्रमित हुने जोखिम बढिरहेकोले अस्पतालमा नयाँ किसिमको भौतिक आवश्यक भएको बताए ।

उनले नारायणी अस्पतालमा पिसिआर मेसिन थप्नका साथ् जनशक्ति पनि उपलब्ध गराउँन सरोकारवाला निकायसँग पहल गर्न आग्रह गरे । जनशक्तिको आभावमा ३ देखि ४ सिफ्टमा स्टाफहरु खट्दा समेत प्रयाप्त मात्रमा स्वाबहरु जाँच नहुने सकेको दु:खेसो पोख्दै उनले पिसिआर टेस्टीङको दायरा बढाउँन जनशक्ति थप्न सबैभन्दा बढी आवश्यक रहेको बताए ।

सामाजिक अभियन्ता ओमप्रकाश सर्राफले संयोजकत्वमा भएको छलफलमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुबोध गुत्पा, महासचिव माधव राजपाल, नारायणी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पुरेन्द्र लाभ, नेपाली कांग्रेस पर्साका सभापति अजयकुमार द्विवेदी, नेपाल कम्युनिष्ट पार्टी पर्साका अध्यक्ष प्रभु हजरा, जनता समाजवादी पार्टीका नेता रामनरेश यादव, सञ्चारकर्मी महेश दास, सानो पाईलाका प्रमुख कार्यकारी निर्देशक कञ्चन झा, सामाजिक अभियन्ता प्रकाश थारु, आशुकुमार सर्राफलगायतको सहभागिता रहेको थियो ।

Back to top