वीरगञ्ज ८ भदौं । कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डेशिभिर नामक इन्जेक्सन (खोप)को कालोबजारी गरेको आरोपमा प्रहरीले एक स्वास्थ्यकर्मी र एक भारतीय नागरिक गरी २ जनालाई पक्राउ गरेको छ। वीरगञ्जका विभिन्न अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मी ताहिर अन्सारी र भारत रक्सौलका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
कोरोना संक्रमितका परिवारजनलाई रेम्डेशिभिर नामक इन्जेक्सन बढी मुल्यमा बिक्री गरेको सुचनाका आधारमा २ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक मनोजित कुँवरले जानकारी दिए।
अन्सारीलाई शनिबार राति नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले दिएको बयानका आधारमा रक्सौलका एक पुरुषलाई वीरगञ्जको इनर्वाबाट आइतबार साँझ नियन्त्रणमा लिएको कुवँरले बताए। उनीहरुको साथबाट ९ भाइल रेम्डेशिभिर इन्जेक्सन पनि बरामद गरिएको जानकारी उनले बताए।
'कोभिड अस्पतालमा उपचाररत कोरोना संक्रमितका परिवारलाई साढे २८ देखि ३३ हजारसम्म मुल्यमा रेम्डेशिभिर इन्जेक्सन बेचेको सुचना छ', प्रहरी नायव उपरीक्षक कुवँरले भने, ‘त्यही सुचनाको आधारमा दुवैलाई सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ।' दुवैलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको कुवँरले जानकारी दिए।
प्रहरी श्रोतका अनुसार नारायणी अस्पतालको मातहतमा सन्चालित वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक कोरोना संक्रमितका परिवारजनसँग अन्सारीले रेम्डेशिभिर इन्जेक्सन उपलब्ध गराइ दिने भन्दै पटक पटक गरी १ लाख ९८ हजार रुपैयाँ लिइसकेका छन्। ती संक्रमितलाई थप खोप आवश्यक भएपछि अन्सारीले फेरि रकम मागेपछि संक्रमितका परिवारजनले प्रहरीमा खबर गरेका र प्रहरीले अन्सारी र भारतबाट खोप ल्याएर दिने रक्सौलका भारतीयलाई पक्राउ गरेको हो।
वीरगञ्जमा उपचाररतमध्ये अहिलेसम्म २५ भन्दा बढी कोरोना संक्रमितको उपचारमा चिकित्सकले रेम्डेशिभिर इन्जेक्सन प्रयोग गरिसकेका छन्। भारतमा उत्पादित रेम्डेशिभिर खोप नेपालमा आयातका लागि औषधी व्यवस्था विभागले निजी कम्पनीलाई अनुमति दिइसकेको छ। नेपाल सरकारले उक्त खोपको मूल्य बढीमा ७ हजार ६ सय रुपैयाँमा बिक्री गर्ने र तोकिएको भन्दा बढी मूल्य लिएको पाइएमा कारवाही गर्ने जनाएको छ।
यो भन्दा पहिला "रेम्डेशिभिर कालोबजारी गरेको आशंकामा नारायणी अस्पतालका चिकित्सक पक्राउ" भनेर लेखिएको शिर्षक सक्च्याइएको छ । त्रुटीले पर्न गएको असुविधाका लागि हामि क्षमाप्रार्थी छौं ।