वीरगञ्ज ७ भदौँ । बारामा मास्क नलगाउने सर्वसाधारणलाई कारबाही गरिरहेका प्रशासन प्रमुख स्वयम्ले मास्क नलगाउँदा कारवाही हुन्छ कि हुँदैन भन्ने विषयमा सामाजिक सञ्जालमा आलोचनात्मक विश्लेषण सुरु भएको छ ।
बाराका सिमावर्ती क्षेत्रहरुमा तस्करी मौलाएको खबर सुनेपछि प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको नेतृत्वमा अनुगमन भएको थियो ।
अनुगमनका क्रममा खिचिएका तस्बिर सार्वजनिक भएपछि हाल प्रजिअको आलोचना सुरु भएको हो । सार्वजनिक भएको तस्बिरमा प्रजिअ पण्डितले निधारमा मास्क लगाएको देखिएको छ ।
मुख र नाक छोप्ने गरि मास्क लगाउनु पर्ने विश्व स्वास्थ्य संगठनको मापदण्ड भएपनि प्रजिअले मापदण्डलाई वास्ता गरेका छैनन् ।
अझ, उनले आफैले तर्जुमा गरेको नियमको समेत उल्लंघन गरेका छन् ।
बारा पर्साका सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले हाल प्रजिअको मास्क बिनाको फोटो पोष्ट्याउँदै कारवाहीको माग गरिरहेका छन् ।
सामाजिक सञ्जालका एक प्रयाेगकर्ता लेख्छन् “जनताले मास्क नलगाए जबर्जस्ति १०० रुपैया तिराउने हाम्रो प्रजिअ रुद्र प्रसाद पण्डित ज्यु निधारमा मास्क लगाउदा कति तिर्नुपर्ने उचित होला?”