वीरगञ्ज ७ भदौँ । पर्साको पोखरीया नगरपालिकामा रहेको आईसोलेसनमा चरम लापरवाही भईरहेको खबर छ ।संक्रमितहरुलाई पिउने पानी देखि दिईने खानासम्ममा लापरवाही भईरहेको छ ।
आईतबार आईसोलेसनमा रहेका बिरामीहरुलाई दिइएको खानामा किरा भेटिएको हो । उक्त आईसोलेसनमा उपचाररत रहेको एक बिरामीले खानामा किरा भेटिएको बताएका छन् । उनका अनुसार पोषणयुक्त खाना दिनुको सट्टा किरायुक्त खाना दिईँदैछ ।
आईसोलेसनमा रहेका बिरामीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको खाना दिईनुपर्नेमा पोखरीया अस्पतालमा कमसल सामाग्री प्रयोग भएका पोषणहिन खाना दिइएको हाे ।
उक्त संक्रमितका अनुसार दालमा माड मिसाएर दिने गरिएको छ । यस पुर्व बिहान दुध र पाउरोटि दिईएपनि पछिल्लो केही दिनबाट दुध र पाउरोटि नदिइएको उनको भनाई छ ।
आईसोलेसनमा रहेका शाकाहारीहरुका लागि शाकाहार खाना व्यवस्थापन गरिदिन आग्रह गर्दा कुनै सुनुवाई हुन सकेको छैन ।
उनी भन्छन्, '३ दिन देखि औषधी मागीरहेको छु । दिन्छु भन्दा भन्दै आज तेस्रो दिन बित्न लाग्यो । खानामा कहिले भात घट्छ त कहिले दाल । गुनासो गर्दा कोठामा थुन्दिन्छन् ।'
केही दिन अगाडी विभिन्न समस्याका बारेमा सञ्चारमाध्यमलाई जानकारी गराउँदा आफु लगायत केही बिरामीहरुलाई वार्डमै थुनिदिएको उनी बताउँछन् ।
संक्रमित भएर उपचारका लागि आईसोलेसनमा भनाई भएको आफुलाई यहाँको व्यवस्थापनले मानसिक तनाव दिएको उनको गुनासो छ ।