वीरगञ्ज ७ भदौँ । सार्वजनिक मुद्दाको कसुरमा जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा रहेका दुई जना पुरुष फरार भएका छन् । प्रहरी हिरासतमा रहेको उनीहरुमा कोरोना संक्रमण पुष्टी भए पछि अस्पताल भर्ना गरिएको थियो ।
नरायणी कोभिड अस्थाई अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचार गराई रहेका उनीहरु अस्पताल परिसरबाट फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । कोरोना संक्रमित पुष्टी भए पछि उनीहरुलाई भदौं १ गते वीरगञ्ज हेल्थ केयर कोरोना बिशेष अस्पतालमा भर्ना गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक गंगा पन्तले दुई जना कोरोना संक्रमित अस्पतालबाट भागेको खबर आइतवार बिहान प्राप्त भएको जानकारी दिदै उनीहरुको खोजी भईरहेको बताइन् । अस्पतालको सुरक्षा व्यवस्था कडा रहेको भए पनि उनीहरु कसरी भाग्न सफल भए बारे जानकारी लिने काम भईरहेको प्रहरी उपरीक्षक पन्तले बताइन् ।
प्रहरी हिरासतमा रहेको उनीहरुलाई प्रक्रिया पु¥याएर भर्ना गरिएको वताउदै प्रहरी उपरीक्षक पन्तले उनीहरुको खोजी कार्य तीव्र पारिएको र छिटै पक्राउ पर्ने बताइन् ।
शनिबार राति २ बजेतिर राउण्डमा गएका स्वास्थ्यकर्मीले दुई सङ्क्रमितलाई नदेखेपछि प्रहरीलाई खबर गरेका थिए । डिलक्स क्याबिनमा बस्दै आएका उनीहरु कसरी भाग्न सफल भए भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
अस्पतालको पछाडिबाट हाम फालेर भागेको हुन सक्ने आशंका प्रहरीको छ । उनीहरुको खोज तलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।