×

वीरगञ्ज ६ भदौं । कम्प्युटर एसोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) पर्साको आयोजनामा एक दिने भर्चुवल अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

महासंघ पर्साको कार्यसमितिद्वारा आयोजित इ-कमर्स (इन्टरनेट व्यवसाय) विषयक भर्चुवल वेबिनार अर्थात अभिमुकिकरण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा इ-कमर्स सम्बन्धमा विभिन्न विषयमा प्रशिक्षक प्रभास कार्कीले कुराकानी गरेका थिए । उनले विश्व र नेपालमा इ-कमर्सको इतिहास, सम्भावाना, राम्रा तथा नराम्रा पक्ष, इ-कमर्स व्यवसायको अवस्थालगायत विषयहरुमा कुराकानी गरेका थिए ।

कार्कीले नेपालमा इ-कमर्सको राम्रो भविष्य भएको हुनाले यसमा लगानी गर्नु राम्रो भएको बताउँदै उचित अध्ययन र अनुसन्धान गरेर होमिन सल्लहा दिएका थिए ।

त्यसैगरी कार्यक्रममा नेपाल सरकारले ल्याउँन लागेको इ-कमर्स सम्बन्धित नीति, नियम र नियमावलीलगायत विषयमा पनि चर्चा गरिएको थियो । १ सय ५० जना भन्दापनि बढीको सहभागिता रहेको कार्यक्रममा सहभागीहरुले प्रशिक्षक कार्कीसँग विभिन्न प्रश्न समेत गरेका थिए ।

समापन कार्यक्रममा बोल्दै क्यान महासंघ प्रदेश नं. २ का अध्यक्ष आलोककुमार चौरसियाले आगामी दिनहरुमा क्यानले हरेक क्षेत्रका व्यक्तिहरुको लागि यस्ता प्रकारका तालिम, कार्यशाला र अभिमुखीकरण गर्ने बताएका थिए । उनले सूचना प्रविधि क्षेत्रमा काम गर्ने व्यवसायी र प्रोफेशनल्सहरुको एक मात्र छाता संगठन क्यानले नेपालमा आइटि क्रानित ल्याउँने उद्देश्य राखेको जनाएका थिए ।

क्यान महासंघ पर्साका उपाध्यक्ष एवम् कार्यवाहक अध्यक्ष प्रशान्त कुमारको सभापतिवामा भएको कार्यक्रममा ठाकुरराम बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. राजदेव कुश्वाहको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा क्यान महासंघ केन्द्रीय कमिटिकी वरिष्ठ उपाध्यक्ष रत्न तारा वैध, ठाकुरराम बहुमुखी क्याम्पस बिबीए संकाय निर्देशक संजय श्रेष्ठ, वीरगञ्ज कलेज प्रालिको व्यवस्थापन समितिका अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरी, क्यान महासंघ पर्साका सचिव जीवन प्रकाश गुप्ता, सह-सचिव गणेश सर्राफ, कोषाध्यक्ष संजय कुर्मी, सदस्यहरु सुरज पटेल, केन्द्रीय कमिटिका पदाधिकारी, विभिन्न प्रदेश कमिटिका पदाधिकारी, जिल्ला कमिटिहरुका पदाधिकारीलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण क्यान महासंघ पर्साका कार्यसमिति सदस्य आशुकुमार सर्राफले गरेका थिए ।

Back to top