×

वीरगञ्ज ६ भदौँ । पर्सा, बारा र रौतहटमा थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रायोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये बाराका ५ जना र रौतहटका १ जना छन् ।

प्रयोगशाला स्रोतका अनुसार शुक्रबार ४ सय ५० जनाको पीसीआर परीक्षण गरिएको थियो । संक्रमितमध्ये अधिकांश पर्साको पर्सागढी नगरपालिकाका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका केही प्रहरीमा पनि संक्रमण देखिएको छ । संक्रमितबारे थप विवरण आउन बाँकी छ ।

अन्य निकायबाट सूचना प्रवाहमा रोक लगाएर जिल्ला प्रशासन कार्यालय पर्साले हरेक दिन बेलुकी मात्रै संक्रमितको संख्या सार्वजनिक गर्ने गरेको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार भदौ ५ गते साँझ ५ बजेसम्म पर्सामा ३ सय ८० जना महिलासहित १ हजार ७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा २२ जना भारतीय नागरिक, १ सय १८ जना स्वास्थ्यकर्मी, ८५ जना सुरक्षाकर्मी, ८ जना पत्रकार, ८९ कैदी–थुनुवा, ४८ जना अस्पतालका सफाइकर्मी, गार्ड र कार्यालय सहयोगी छन् ।

Back to top