×

वीरगञ्ज ४ भदौ । वीरगञ्जमा बिहीबार साँझ थप एक वृद्धको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचारको क्रममा वृद्धको आज पौने ७ बजेको करिवमा मृत्यु भएको हो ।

मृत्यु हुने वृद्ध वीरगञ्ज महानगरपालिका वडा नं. १५ प्रतिमा चौकका बासिन्दा हुन् । कोरोना पुष्टि भएपछि उनलाई बुधबार कोभिड विशेष अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको अस्पतालका चिकित्सक डा. दीपक कुश्वाहले जानकारी दिए ।

क्षयरोग, मधुमेह, थाईराइड र उच्च रक्तचापको पुराना रोगी उनमा ज्वरो, खोकीका साथै निमोनियाको समस्या देखिएपछि ७४ वर्षीय वृद्धलाई भदौं २ गते मंगलबार नारायणी हस्पिटलमा भर्ना गरिएको थियो । त्यहाँ उनको स्वाब परिक्षण गर्दा कोभिड पोजेटिभ देखिएपछि हिजो साँझ वीरगञ्ज हेल्थ केयर ल्याइएको कुश्वाहले बताए ।

अस्पतालमा ल्याउँदा उनको स्वास्थ्य अवस्था गम्भीर रहेको डा. कुश्वाहले बताए । उनलाई ल्याउन बितिकै आइसीयुमा राखेर अक्सिजन चढाउँनु परेको उनले जानकारी दिए ।

'अस्पताल ल्याउँदा उहाँको स्वास्थ्य अवस्था थिए थिएन, हामीले उनलाई तत्कालै आइसीयुमा भर्ना गर्यौं र अक्सिजन सपोर्टमा राखेर उपचार सुरु गर्यौं,' डा. कुश्वाहले भने, 'आज बिहानदेखि उहाँलाई भेन्टिलेटरमा राख्नु परेको थियो, हामीले धेरै प्रयास गर्दा पनि उनको ज्यान बचाउँन सकेनौं ।'

उनको मृत्युसँगै पर्सामा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउँनेको संख्या बढेर २५ पुगेको छ । जिल्लामा अहिलेसम्म १६ सय भन्दा बढीमा सङ्क्रमण पुष्टि भइसकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

Back to top