वीरगञ्ज ४ भदौ । वीरगञ्ज महानगरपालिकामा हुनै लागेको सुनियोजित भ्रष्टाचार काण्ड रोकिएको छ ।
वीरगञ्ज महानगरपालिकाले गुपचुप रुपमा भेडाहा खोलाको ठेक्का निकै न्युनमा दिन लागेको घटना सार्वजनिक भएपछि टेण्डर प्रक्रिया रोकिएको छ ।
बुधबार दिउँसो २ बजे खुल्ने भनिएको टेण्डरमा चरम भ्रष्टाचार रहेका विषय सार्वजनिक भएपछि खैलाबैला मच्चिएको थियो ।
टेण्डरमा अनियमितता भएको विषय बाहिरिएपछि टेण्डर प्रक्रिया रोकिएको हो । टेण्डर खोल्ने प्रतिनिधि महागर नपुग्दा टेण्डर रोकिएको थियो ।
गत श्रावन ५ गते महानगरले काठमाण्डौंबाट प्रकाशित हुने दैनिक पत्रिकामा टेण्डर प्रकाशित गरी लुकाएको र मंगलबार ११ जनाले टेण्डर किनेको र ती मध्ये न्युन रकम कायम गरी ७ जनाले भरेका थिए । ती मध्ये अधिकत्तम ४१ लख ९१ हजार र न्युनतम ३८ लाख १० हजार सम्मका टेण्डर भरेको स्रोतले जनाएको छ ।
गत वर्ष ३ महिनाका लागि ३१ लाखमा दिइएको टेण्डर अहिले ९ महिनाका लागि ४१ लाख ९१ हजार १ रुपैँयामा गुपचुप रुपमा सरस्वती निर्माण सेवालाई गिट्टी, बालुवा, ढुंगाको ठेक्का महानगरले लगाउने षडयन्त्र गरेपछि जिल्ला समन्वय समिती पर्साका सभापति नेक महम्मदले आफ्नो सहमतीका बिना लकडाउनका बेला कमिसनको चक्करमा सम्झौता गर्न लागेको ठेक्कालाई स्विकृत हुन नदिने बताएका छन् ।
आर्थिक वर्ष २०७५/७६ मा भेडाहा खोलाको टेण्डर १ करोड ४५ लाखमा भएको र अहिले ९ महिनाका लागि ४१ लाखमा दिन लागिएका कारण जनप्रतिनिधि र महानगरका प्रमुख प्रशासकीय अधिकृत कमिसनको जालोमा फसेको र यसलाई जसरी पनि असफल पार्ने जिल्ला समन्वय समितिका सभापति नेक महम्मदले चेतावनी दिएका छन् ।
पछिल्लो जानकारी अनुसार महानगरपालिकामा ठेकेदार र महानगरपालिका कर्मचारी मात्र बसेका र टेण्डर स्विकृत गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समितीको कार्यालय, मालपोत कार्यालय, शहरी विकास कार्यालयका प्रतिनिधिहरु ठेक्कामा चलखेलको विषय बाहिरिएपछि छलफलमा अनुपस्थित भएको जनाइएको छ ।