वीरगञ्ज ३ भदौं । वीरगञ्जमा बुधबार थप एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
अस्थायी कोरोना अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचाररत एक महिलाको आज दिउँसो मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
वीरगञ्जस्थित रेशमकोठी बस्ते ४० वर्षीय महिलाको आज दिउँसो सवा ४ बजे मृत्यु भएको हो । विगत ४ दिनदेखि स्वास्थ्यमा समस्या आएको कारण उनको एक निजि अस्पतालमा उपचार चलिरहेको थियो ।
हिजो मंगलबार उनको पिसिआर परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उनलाई नारायणी अस्पतालको मातहातमा रहेको अस्थायी कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो ।
मृतक महिलामा अत्याधिक मात्रामा चिनीको समस्या र निमोनिया पनि देखिएको चिकित्सकहरुले बताएका छन् ।
आज बिहान मात्रै सङ्क्रमणबाट दुई जनाले ज्यान गुमाएको पुष्टि भएको थियो । योसँगै २ दिनमा कोरोनाबाट पर्सा जिल्लामा ३ जनाले ज्यान गुमाएका छन् भने हालसम्म जिल्लाभरीमा २४ जनाले ज्यान गुमाई सकेका छन् ।
यसैबीच बुधबार कोरोनामुक्त भएर १५ जना घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार आज विभिन्न उमेर समूहका १५ निको भई घर फर्केका हुन् । जिल्लामा कोरोना सङ्क्रमितहरुको संख्या १६ सय काटेको छ ।