×

वीरगञ्ज ३२ श्रावन । कोरोना सङ्क्रमणबाट मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका एक व्यक्तिको शंक्सास्पद मृत्यु भएको छ ।

नारायणी अस्थायी विशेष कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरबाट शनिबार डिस्चार्ज भएका पुरुषको घर नपुग्दै सोहि दिन मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ मुर्लीका ५५ वर्षीय लाल बहादुर प्रसाद कलवार रहेका छन् ।

कोरोना सङ्क्रमणबाट मुक्त भएका उनलाई हिजो मात्रै डिस्चार्ज गरिएको थियो । विगत डेढ हफ्तादेखि कोरोना सङ्क्रमित भएर कोभिड अस्पताल वीरगञ्ज हेल्थ केयरमा उपचार गराई रहेका उनको नारायणी अस्पतालको पिसिआर ल्याबमा दोस्रो पटक स्वाब परिक्षण गर्दा नतिजा नेगेटिभ आएको थियो ।

रिपोर्ट नेगेटिभ आएपछि उनलाई डिस्चार्ज गरिएको कोभिड अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताए ।

कोभिड अस्पतालबाट डिस्चार्ज हुँदा उनमा कोरोना सङ्क्रमण नभएपनि उनको स्वास्थ्यमा भने सुधार आएको थिएन । डा. सिंहका अनुसार उनलाई अझैपनि श्वासप्रश्वासमा समस्या आउँनका साथै झाडा पखालापनि थियो । उनको अक्सिजन सेचुरेसनमा समेत कम रहेकोले चिक्तिसकले उनलाई अर्को अस्पतालमा भर्ना हुन् सल्लहा दिएका थिए ।

'कोरोना सङ्क्रमण मुक्त भइसकेका उनलाई कोभिड अस्पतालमा राख्नु ठिक हुँदैन थियो, त्यही भएर हामीले उनलाई राम्रो अस्पतालमा गएर भर्ना हुन् सुझाव दिएका थियौं.' डा. सिंहले भने ।

कोभिड अस्पतालबाट डिस्चार्ज भएका कलवारलाई परिवारजनले वीरगञ्जकै नारायणी वयोधा अस्पतालको आईसीयुमा भर्ना गरेका थिए । वयोधा अस्पतालको आइसीयु कक्षमा उपचारको क्रममा कलवारले शनिबार राती ११ बजे ज्यान गुमाएको अस्पतालका प्रशासन शाखाका विष्णु पटेलले बताए ।

मृतक वृद्ध उच्च रक्तचाप, मधुमेह, फोक्सो र किड्नीको समयसाबाट पहिलादेखिनै ग्रसित थिए । लामो समयदेखि विभिन्न रोगको उपचार चलिरहेको उनलाई केहि दिनअघि निमोनिया भएपछि चिकित्सकले कोरोना परिक्षण गराउन सल्लहा दिएका थिए । कोरोना परिक्षण गराउँदा श्रावन २३ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

रिपोर्ट पोजेटिभ आएपछि वृद्धलाई वीरगञ्ज हेल्थ केयरमा भर्ना गरिएको थियो । परिवारले उनको शव अस्पतालबाट बुझेर हिन्दु परम्परा अनुसार अन्त्येष्टि समेत गरिसकेका वडा नं. १३ का वडा अध्यक्ष तूफान फारुख अन्सारीले बताए ।

Back to top