वीरगञ्ज २४ श्रावन । कोरोनाभाइरस सङ्क्रमणका बेला प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउत गद्दीको काम कारवाहीबाट जनता सन्तुष्ट नभएको बुझिएको छ ।
यात्रा डेली डटकम अनलाइन समाचार पत्रिकाले आफ्नो आधिकारी फेसबुक पेजमा चलाएको अनलाइन पोलमा ९३ प्रतिसत जनताले कोरोना कालमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतको काम कारवाहीबाट आफुहरु सन्तुष्ट नभएको बताएका छन् ।
नमूना सर्वेक्षणका रुपमा यात्रा डेलीले चलाएको अनलाइन पोलमा १७ सय भन्दा बढीले सहभागिता जनाएका थिए । सहभागी मध्ये केवल १ सय २० जनाले मुख्यमन्त्री लालबाबु राउतको काम कारवाहीबाट आफुहरु सन्तुष्ट भएको बताएका छन् । अन्य १६ सयले मुख्यमन्त्रीको काम आफुहरुलाई सन्तोषजनक नलागेको भन्दै भोट गरेका छन् ।
अनलाइनको फेसबुक पेजमा शुक्रबार दिउँसोबाट सुरु भएको अनलाइन पोल शनिबार दिउँसो सम्पन्न भएको छ । २४ घण्टासम्म चलेको पोलमा प्रदेशभरीका जनता र विशेषगरी युवाहरुले सहभागिता जनाएका थिए ।
कोरोनाभाइरस महामारीको समयमा मुख्यमन्त्री लालबाबु राउतले काम भन्दापनि बढी आश्वासन बाडेको जनताको आरोप छ । पोलमा जनताले कमेन्ट गर्दै मुख्यमन्त्री लालबाबु राउत काम गर्नु भन्दा पनि आश्वासन बाड्न बढी व्यस्त देखिएको बताएका छन् ।
https://www.facebook.com/yatradaily/posts/3180249065401061
प्रदेश नं. २ मा मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सरकारले कोरोनाको समयमा यहाँका अस्पतालहरुका लागि एउटा भेन्टिलेटरसमेत खरिद गर्न सकेको छैन । कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको प्रदेश नं. २ मा जनताले प्रदेश सरकार अनुभूति नगरेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
नागरिक समाजका अगुवाहरुका अनुसार मुख्यमन्त्री लालबाबु राउत गद्दी एक्सन भन्दापनि प्रमोसनमा बढी ब्यवस्त भएको आरोप लगाएका छन् ।