वीरगञ्ज १६ श्रावन । वीरगञ्जमा कोरोना सङ्क्रमितहरुको शव व्यवस्थापनमा समस्या देखिएको छ । जिल्लाका विभिन्न स्थानका स्थानीयहरुले अवरोध गरेपछि शव व्यवस्थापनमा समस्या देखिएको हो ।
पछिल्लो ३ दिनमा कोरोना सङ्क्रमणबाट मृत्यु भएकाहरुको शव व्यवस्थापन नहुँदा शव अस्पतालमा अलपत्र परेको छ ।
सङ्क्रमणबाट मृत्यु भएका ५ जनाको शव अहिले अस्पतालमै रहेको नारायणी मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले वताए ।
बुधबार मृत्यु भएका २ जना र बिहिबार मृत्यु भएका ३ जनाकाे गरी ५ जनाकाे शव अस्पताल मै रहेकाे छ ।
शवकाे व्यवस्थापनकाे जिम्मा सेनाकाे भएपनि स्थानीयहरुको अवरोधका कारण शव व्यवस्थापन हुन नसकेको मेसु उपाध्यायले बताए । उनका अनुसार सुरुमा समस्या नआएपनि पछिल्लो समय स्थानीयहरुले अवरोध गरेपछि समस्या उत्पन्न भएको हो ।
'सुरुमा जलाएर काेराेना संक्रमितकाे शव व्यवस्थापन गर्दा समस्या देखिएन तर पछी गाडेर व्यवस्थापन खोज्दा समस्या उत्पन्न भएको छ,' मेसु उपाध्यायले भने ।
सेनाले श्रावन १२ गते साेमबार वीरगञ्ज महानगरपालिकाकाे वडा नं. ३१ मिलनचाेकस्थित काेराेना संक्रमितकाे शव गाडेर व्यवस्थापन गर्न खाेज्दा स्थानियहरु अवराेध गरेका थिए । स्थानियहरुकाे अवराेधका कारण साेही दिन आधा रातमा सेनालाई तिलावे नदीमा जेसिभिले शव गाडेर व्यवस्थापन गर्नु परेकाे थियाे ।
तर त्यसकाे भाेली पल्ट मङ्गलबार वीरगञ्ज-१७ अलाैं, काेनिया र वीरगञ्ज-२५ केहुनियाका स्थानियहरुले बिराेध प्रदर्शन गरेका थिए । त्यसपछि हालसम्म शव व्यवस्थापन हुन सकेकाे छैन् ।