×

वीरगञ्ज १५ श्रावन । वीरगञ्ज कारागारका कैदीबन्दी सुरक्षाकर्मी र कर्मचारीसहित १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कारागारमा रहेका एक महिलासहित आठ जना कैदीबन्दी, तीन जना सुरक्षाकर्मी र दुई जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

कारागारका २२ जनाको स्वाब सङ्कलन गरी नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएका जेलर पोखरेलले बताए ।

कैदी, सुरक्षाकर्मी र कर्मचारीहरुलाई समेत कोरोना सङ्क्रमण पुष्टि भएपछि कारागार परिसरमै कैदी र कर्मचारीका लागि छुट्टाछुट्टै आइसोलेशन कक्ष तयार पारेर कारागारकै स्वास्थयकर्मीबाट उपचार सुरु गरेको पोखरेलले जानकारी दिए ।

संक्रमित कैदीबन्दीका लागि भित्रै अलग कक्षको व्यवस्था गरिएको उनले बताए । उपचारमा खटिएका स्वास्थ्यकर्मी दीपकप्रसाद यादवका अनुसार संक्रमण देखिएका कैदीबन्दीमध्ये ७५ वर्षीय एक बृद्धलाई दमको तथा ७० वर्षीय अर्का वृद्धलाई मुटुको समस्या छ ।

उनहरुलाई श्वास फेर्न गाह्रो भैरहेको यादवले बताए । यादवका अनुसार १२ वटा ब्लकमा करिव १२ सयकै सङ्ख्यामा कैदिबन्दी छन् ।

जुन ब्लकमा सङ्क्रमित भेटिए त्यही ब्लकका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्ने भनिए पनि हालसम्म नभएको उनले बताए ।कर्मचारी, प्रहरी र कैदीबन्दीलाई कोरोना संक्रमण भेटिएपछि कारगार सील गरिएको छ ।

Back to top