वीरगञ्ज १५ श्रावन । पर्सामा कोरोना सङ्क्रमितहरुको सङ्ख्या बढ्दै गएपछि नयाँ थपिएका सङ्क्रमितहरु होम आइसोलेसनमा बस्न बाध्य भएका छन् ।
पर्सामा वीरगञ्ज महानगरपालिकाद्वारा सञ्चालित एक मात्र गण्डक कोभिड अस्थायी अस्पतालमा क्षमता भन्दा बढी सङ्क्रमितहरु भर्ना भएपछी पछिल्लो समय थपिएका नयाँ सङ्क्रमितहरु बेड आभावका कारण होम आइसोलेसनमा बस्न बाध्य भएका हुन् । ५० बेड क्षमता भएको गण्डक अस्पतालमा ६१ सङ्क्रमितहरुको उपचार चलिरहेको अस्पतालका इन्चार्ज डा. उदय नारायण सिंहले बताएका छन् ।
होम आइसोलेसनमा बसेका सङ्क्रमितहरुले समुदायमा थप कोरोना फैलाउँने भय सृजना भएको छ । होम आइसोलेसनमा बसेका सङ्क्रमितहरुले बाहिर गएर सङ्क्रमण फैलाउँलान भन्दै वीरगञ्जका स्थानीय त्रसित बनेका छन् ।सथानीयहरुले होम आइसोलेसनमा बसेका सङ्क्रमितहरुको नाम सार्वजनिक गर्न समेत माग गर्दै आएका छन् ।
यसैबीच होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको घरमा वीरगञ्ज महानगरपालिकाले स्थानीयवासीलाई सतर्क रहन सूचना टाँसेको छ । ‘कोभिड–१९ पोजिटिभ केसको घर, होम आइसोलेसन सतर्क रहौँ’ लेखिएको सूचना महानगरपालिकाका स्वास्थ्यकर्मीले टाँसेका हुन् । बुधबारसम्ममा ३० वटा घरमा यस्तो सूचना टाँसिएको महानगरपालिका स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
'वीरगञ्जमा सञ्चालित कोभिड अस्पतालको भार कम गर्न लक्षण नभएका सङ्क्रमितहरुलाई हामीले उपलब्ध गराएको मापदण्ड अनुसार होम आइसोलेसनमा बस्न अनुरोध गरेका छौं,' वीरगञ्ज महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख अरुण महतोले भने, 'होम आइसोलेसनमा बसेका संक्रमितको घर अगाडि सूचना टाँस्दा छरछिमेका स्थानीयवासी आफ्नो समुदायमा समेत कोरोना आइसक्यो भनेर सतर्क रहन सक्छन ।’
कोभिड अस्पतालमा क्षमता भन्दा बढी सङ्क्रमितहरु भर्ना भएका कारण लक्षण नदेखिएका सङ्क्रमितहरुलाई होम आइसोल्सनमा राख्नु परेको महतोले बताए । 'पछिल्लो समय वीरगञ्जमा भेटिएका सङ्क्रमितहरु मिस्रित किसिमका छन्, केहीमा लक्षण छ, केही सङ्क्रमितमा कुनै किसिमको लक्षणनै, उनले भने, 'लक्षण नभएका सङ्क्रमितहरुलाई अस्पतालमा राखेर किन बेड अगोटने, बरु उहाँहरुलाई मापदण्ड अपनाउँदै घर भित्र बस्न सल्लहा दिएका छौँ' । घरमा पूर्वाधार हुनेहरुलाई घरमै होम आइसोलेसनमा राखिएको हो ।’
उनले होम आइसोलसनमा बस्दा कोरोना संक्रमितले आइसोलेसनसम्बन्धी १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने बताए । ‘वडा अध्यक्ष, नजिकका प्रहरी र स्वास्थ्यकर्मीको टिमले १४ बुँदे स्वास्थ्य मापदण्ड पालना गर्ने मन्जुरीनामा संक्रमित परिवारसँग गराउँछन्,’ स्वास्थ्य महाशाखा प्रमुख महतोले भने, ‘बिहान र साँझ स्वास्थ्यकर्मी संक्रमितको सम्पर्कमा हुन्छन् ।’