वीरगञ्ज १५ श्रावन । वीरगञ्जमा समुदाय स्तरमा फैलिएकाे काेराेनाभाइरसकाे संक्रमण फैलिएपछि विभिन्न प्रमुख राजनीतिक दलका अध्यक्ष तथा सामाजिक संस्थाका प्रतिनिधिको सर्वपक्षीय बैठक बिहीबार सम्पन्न भएको छ ।
वीरगञ्ज उद्याेग वाणिज्य संघकाे सभाहलमा सम्पन्न बैठकले पर्सामा बढ्दै गइरहेको कोरोना भाइरसको संक्रमण रोकथाम र संक्रमितको व्यवस्थापनका लागि सर्वपक्षीय बैठकले विभिन्न गम्भीर चिन्ता व्यक्त गर्दै विभिन्न मागसहित पाँचबुँदे निर्णय गरेको छ ।
सर्वपक्षीय बैठकले कोभिड संक्रमण नियन्त्रण गर्न विज्ञसहितको चिकित्सक र स्वास्थकर्मीहरूको विशेष टोली तत्काल वीरगञ्ज पठाई सम्पूर्ण व्यवस्थापन गरिदिन संघीय सरकार स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको छ ।
यस्तै कोभिड संक्रमित दिनहुँ धेरै देखिन थालेकाले अहिले भएको कोभिड विशेष अस्पतालमा बेडको अभावमा भर्ना हुन नपाएर उपचारबाट वञ्चित हुनु परिरहेको परिस्थिति देखापरेकाले समस्यालाई समाधानतर्फ अगाडि बढ्ने निर्णय पनि गरिएको छ ।
नारायणी अस्पतालको बन्द सेवा सुरक्षा अपनाएर सुचारु गर्न एवं नारायणी अस्पताललाई रुटिङ हेल्थ सर्भिस अर्थात् जनरल अस्पतालकै रूपमा सुचारु राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमक्ष आग्रह गर्ने जनाइएको छ ।
यस्तै कोरोना संक्रमितको विद्युतीय शवदाह गृह स्थापना गर्न पहल गर्ने निर्णय भएको छ । त्यसैगरी मृत्युपछि सम्मानजनक शवको अन्त्येष्टि गर्ने र महामारीको वेला एकले अर्कोको शवदाहमा अवरोध गर्नु मानवता, सामाजिक र धार्मिक रीतिरिवाजविरुद्ध हुने जनाइएको छ ।
सर्वपक्षीय बैठकमा नेपाली कांग्रेसका सभापति अजय द्विवेदी, नेकपाका प्रतिनिधि महेश दास, जसपाका प्रतिनिधि रामनरेश यादव, वीरगञ्ज उघोग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, वीरगञ्ज युवा समाजका अध्यक्षा कमल चाैगाइ, सामाजिक अभियन्ता ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो ।