वीरगञ्ज १४ श्रावन । काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव तिलावे नदि किनारमा गाडेकाे भन्दै स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाकाे वडा नं. १७ अलाैंका स्थानीयहरुले तिलावे नदि किनारमा कोरोना सङ्क्रमितहरुको शव गाडीएको भन्दै मङ्गलबार राती सडकमा टायर जलाएर विरोध प्रदर्शन गरेका हुन् । वीरगञ्जमा पछिल्लो केहि दिनमा कोरोना सङ्क्रमणबाट मृत्यु भएका व्यक्तिहरुको शव नेपाल आर्मीले स्थानीय प्रशासनको समन्वयमा तिलावे नदिको किनारमा धर्म संस्कृति अनुसार व्यवस्थापन गर्दै आएको छ ।
अलाैंस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिक मुख्य सडकमा प्रदर्शनमा उत्रेकाहरुले स्थानीय प्रशासन, राजनीतिक दल र जनप्रतिनिधिहरु विरुद्ध चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका थिए ।
तिलावे पुल नजिक नदि किनारमा साेमबार आधी रातमा जेसिबीले खनेर काेराेना संक्रमणबाट मृत्यु भएकाकाे शव गाडेकाेले यस क्षेत्रमा काेराेना सर्न सक्ने भन्दै स्थानियहरु विराेधमा उत्रेकाे वताए । बस्ती नजिक रहेकाे नदी किनारमा शव गाड्दा नदीमा आउने बाढीले शव वगाउदा काेराेना सर्न सक्ने उनीहरुकाे ठम्याई छ ।
यस अघि त्यही शवलाई वीरगञ्ज महानगपालिका कै वडा नं. ३१ मिलन चाैकस्थित साेमबार सांझ शव गाडन खाेज्दा विराेध भएकाे पछि शव व्यवस्थापन हुन सकेकाे थिएन । शव गाडनकाे लागि जेसिबी पुगि सक्दा समेत विराेधका कारण शव व्यवस्थापन प्रभावित भएकाे थियाे ।
शव जलाएर व्यवस्थापन गर्दा समस्या नदेखिए पनि गाडेर व्यवस्थापन गर्दा समस्या देखिएकाे हाे ।