वीरगञ्ज १३ श्रावन । फर्मा क्लब पर्साले फार्मेसी उद्योगमा कार्यरत कर्मचारीहरुका लागि उचित सुरक्षा व्यवस्था मिलाउन माग गरेको छ ।
क्लबले मङ्गलबार एउटा विज्ञप्ति जारी गर्दै पर्सा र आसपासका क्षेत्रमा सञ्चालित फार्मेसी उद्योगहरुलाई उच्च सतर्कता अपनाउँदै कर्मचारीहरुका लागि सुरक्षा व्यवस्था मिलाउन माग गरेको हो ।
'नेपालमा सङ्क्रमितहरुको संख्या बढ्दै गईरहेको र कोरोना भाईरस सामुदायिक स्तरमा फैलिने जोखिमको साथसाथै यस क्षेत्रमा रहेका केही महत्वपूर्ण उद्योग तथा कलकारखानाको साथै औषधी उद्योगहरुमा समेत संक्रमण देखिएकोले यस फर्मा क्लबको गम्भीर ध्यानाकर्षण रहेको छ,' विज्ञप्तिमा उल्लेख गरिएको छ ।
कोरोनाभाइरस सङ्क्रमणका कारणले कर्मचारीहरुका साथै उनका परिवारजन समेत उच्च जोखिममा रहेकोले उद्योगहरुलाई सम्बेदनशीलता अपनाउँन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।
क्लबले कोरोनाभाइरसका कारण आउँन सक्ने सम्भावित समस्याहरुलाई मध्यनजर गर्दै सबै कामदार, कर्मचारीहरुको आरडीटि र पिसीआर परिक्षण गर्नुपर्ने, पीपीईलगायत अन्य सुरक्षा सामग्रीहरु उपलब्ध गराई उद्योग सञ्चालन गर्नुपर्ने माग गरेको छ ।