वीरगञ्ज १३ श्रावन । कोरोना सङ्क्रमितहरुलाई राख्न बेडको आभाव भएपछी होटल व्यवसायीहरु सहयोगको हात बढाउँदै अगाडी आएका छन् । होटल तथा पर्यटन व्यवसायी सङ्घले कोरोना सङ्क्रमितहरुको उपचारका लागी होटेललाई आइसोलेसनका रुपमा प्रयोग गर्न दिने घोषणा गरेका हुन् ।
वीरगञ्जमा गण्डक अस्थायी कोभिड अस्पतालमा ५० बेडको आइसोलेसन छ तर त्यहाँ अहिले ६२ जना सङ्क्रमितहरुको उपचार चलिरहेको छ । बेडको आभावमा विगत २-३ दिनदेखि थपिएका सङ्क्रमितहरुको सेल्फ/होम क्वारेन्टिनमा उपचार चलिरहेको अस्पतालका संयोजक डा. उदय नारायण सिंहले बताए ।
बेड अभाव हुँदा ५० भन्दा अधीक सङ्क्रमितहरुलाई हाल अस्पतालमा भर्ना गर्न नसकिएको डा. सिंहले बताए । '४-५ जना संक्रमितलाई क्वारेन्टाइनमा राखिएको र बाँकी संक्रमित घरमा बसेका छन्,' डा. सिंहले भने ।
अस्पतालमा सङ्क्रमितहरुको उपचारका लागी पर्याप्त ठाउँ नहुँदा होटल तथा पर्यटन व्यवसायी सङ्घ पर्साले मङगलबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै होटल र लजलाई आइसोलेसनका रुपमा प्रयोग गर्न दिने जानकारी गराएको छ ।
'वीरगञ्जमा कोरोनाका संक्रमितको संख्या बढ्दै गएको तर बेडको अभावले आइसोलेसनमा राख्न नसक्दा संक्रमितलाई घरमै यथास्थितिमा छोडिएको अवस्था छ । प्रायको घरमा अलग कोठा र शौचालय नहुँदा घरमा राखिएका संक्रमितबाट परिवारका अन्य सदस्यमा संक्रमण सरेर स्थिति झन विकराल बन्ने अवस्था देखिएको छ', संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तत्काल अर्को कोभिड अस्पताल र आइसोलेसनमा बेड थप्ने अवस्था पनि नदेखिएकाले त्यसैलाई मध्यनजर गर्दै होटल व्यवसायीले जोखिम मोलेरै भए पनि अहिले वीरगन्जमा देखिएको समस्याको तत्काल समाधानका लागि वीरगञ्जमा रहेका एट्याच बाथरुम भएका होटलहरु अति न्युनतम शुल्क लिएर आइसोलेसनका लागि उपलब्ध गराउन होटल व्यवसायी तयार रहेको संघका अध्यक्ष पन्तले बताए ।
हालै काठमाडौं स्थित एक तारे होटलमा पनि नेपाल एयलाइन्सको कोभिड संक्रमित कर्मचारीलाई राखिएको उदहारण दिंदै पन्तले भने, ‘लक्षण देखिएका संक्रमितलाई गण्डक स्थित कोभिड अस्पतालमा र लक्षण नभएका संक्रमितलाई स्वस्थकर्मीको प्रत्यक्ष निगरानीमा होटलमा राख्दा हाल देखिएको समस्या तत्कालका लागि टरेर जानेछ।'
पन्तका अनुसार सङ्घमा वीरगञ्जका ३१ वटा होटल र लज आबद्ध छन् । ती सबैमा जम्मा एट्याच बाथरुम सहितका १ हजार कोठा छन् । कोभिड अस्पतालका संयोजक डाक्टर उदय नारायण सिंहले होटल व्यवसायीबाट आएको प्रस्ताव सकारात्मक भएको बताए । उनले भने, ‘यस विषयमा सरोकारवाला निकायले तत्कालै निर्णय गरि हाल्नुपर्छ । नत्र संक्रमितलाई घरमै राख्दा स्थिति झन बिग्रन सक्छ ।'