×

वीरगञ्ज १३ श्रावन । न्यून चापीय रेखा नजिक भएसँगै नेपालमा वर्षाको मात्रा बढ्दै गएको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार पहिले गरिएकाे अनुमानअनुसारै सोमबार रातिदेखि वर्षाको मात्रा बढ्दै गएको हो।

उनका अनुसार सोमबार प्रदेश १ का धेरै स्थानमा वर्षा भएको छ भने त्यहाँका एक–दुई ठाउँमा भारी वर्षासमेत भएको छ। यस्तै गण्डकी, सुदूरपश्चिम प्रदेशमा पनि सोमबार वर्षा भएको छ।

‘भर्खर प्राप्त जानकारीअनुसार हुम्लातिर पनि वर्षा सुरु भएको छ,’ मौसमविद् प्रधानांगले भने। यस्तै अहिले प्रदेश १, काठमाडौं उपत्यकालगायत देशका केही स्थानमा वर्षा भइरहेको उनले जानकारी दिए।

आज (मंगलबार) देखि वर्षाको मात्रा अझ बढ्ने मौसमविद्ले अनुमान गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज सातै प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने सम्भावना छ।

‘दिउँसो देशभर अधिकांश स्थानमा बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ बुलेटिनमा भनिएको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र प्रदेश ५ का थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।’

यसैगरी राति पनि देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, र सुदूर पश्चिमका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बुधबार र बिहीबार वर्षा अझ बढ्ने अनुमान गरिएको छ। महाशाखाको बुलेटिनअनुसार बुधबार र बिहीबार धेरै भारी वर्षासमेत हुने सम्भावना छ।

मौसमविद्को अनुमान यस्तो छ :

साउन १४ गते (बुधबार)

दिउँसोः देशभर अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति : देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

साउन १५ गते (बिहीबार)

दिउँसोः देशभर साधारणतयादेखि अधिकांश बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।

राति : देशभर साधारणतयादेखि अधिकांश बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने गण्डकी, प्रदेश ५, र प्रदेश १ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मौसमविद् राजु प्रधानांगका अनुसार ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ भने सय मिलिमिटरभन्दा धेरै वर्षा भएमा धेरै भारी वर्षा भनिन्छ।

‘अहिलेसम्म यसअघि जारी गरिएको अनुमानलाई नै मान्नुपर्ने हुन्छ (शुक्रबारसम्म ठूलो वर्षा जारी रहने),’ उनले भने, ‘हामी (मौसम पूर्वानुमान महाशाखा) सामान्यतया तीन दिनसम्मको मौसम अनुमान गर्छाैं, त्यस हिसाबले बिहीबारसम्म वर्षा ठूलै हुन्छ, त्यसपछि क्रमशः कम हुन्छ कि भन्ने अनुमान छ।’

Back to top