×

वीरगञ्ज ८ श्रावन । वीरगञ्जमा कोरोनाभाइरसको संक्रमण समुदाय स्तरमा प्रवेश गरेका कारण नगरप्रमुख विजयकुमार सरावगीले निषेधाज्ञा लगाउन माग गरेका छन् ।

स्थानीय प्रशासनको लापरबाहीका कारण संक्रमण समुदाय स्तरमा फैलिएको मेयरले आरोप लगाउँदै मेयर सरावगीले निषेधाज्ञा लगाउन माग गरेका हुन् । वीरगञ्ज पथलैया औद्योगिक करिडोरमा सञ्चालित रहेका उद्योगमा कार्यरत मजदुरहरु दिनहुँ खुल्लेआम आवतजावत गर्ने गरेका कारण संक्रमण समुदायमा फैलिएको उनले बताएन ।

सिमामा कडाईका साथै अविलम्ब निषेधाज्ञा लागु गर्न मेयर सरावगीले स्थानिय प्रशासनसँग माग गरेका हुन् ।

यसैगरी पर्सा क्षेत्र नं १ का सांसद् प्रदीप यादवले समुदाय स्तरमा फैलिएको संक्रमण लाई नियन्त्रण गर्न निषेधाज्ञा लागु गर्दै अविलम्ब पिसिआर परिक्षण सुरु गर्न आग्रह गरेका छन् ।

सामाजिक सञ्जालको फेसबुकमा एक पोष्ट लेख्दै सांसद् यादवले पर्सा जिल्लामा समुदाय स्तरमै लक्षण सहितको कोरोना संक्रमित देखिन थालेकोले सचेत हुँदै सबै जिम्मेवार बन्न आवश्यक रहेको बताए ।

उनका अनुसार बेलैमा सचेत नभए अवस्था विकाराल हुन सक्छ । उनले एक घर एक परिक्षण अभियान तुरुन्त सुरु गर्नका लागि अपिल समेत गरेका छन् ।

वीरगञ्जमा कोरोना संक्रमणका कारण एक जना वृद्धको मृत्यु र एकै दिन १७ जनामा संक्रमण देखिएका कारण समुदायमा प्रवेश गरेको स्वास्थ्यकर्मीहरुले बताएका छन् । संक्रमणबाट बच्न मास्क, सैनेटाईजर तथा सामाजिक दुरी जस्ता आधारभुत नियमहरु पाल्ना गर्न विज्ञहरुको सुझाव छ ।

Back to top