वीरगञ्ज ७ श्रावन । गाँजा तस्कर र प्रहरी बीच भएको झडप हुँदा एक प्रहरी जवान घाइते भएका छन् । गाँजा तस्करलाई पक्राउ गर्न गएको प्रहरीको संयुक्त गस्ती टोलीलाई तस्करले ढुङ्गामुढा गरेपछि प्रहरी ३ राउड हवाई फाईरिङ्ग गरेको हो । झडपमा क्रममा प्रहरी घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पोखरियाको प्रहरी गस्ती टोलीले ५ किलो लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । घरमा लुकाई छिपाई गाँजा राखेको विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले बहुदरमाई नगरपालिका वडा नं. ९ निवासी शम्भु साह कलवार तथा उनकै छोरा वर्ष १९ को अनिल साह कलवार गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरी घटना स्थलमा पुग्ना साथ प्रमाणलाई लुकाउने प्रयास गरेको तथा आरोपीहरुलाई स्थानीयहरुले भगाउने प्रयास गरेपछि केही स्थानीय तथा प्रहरी बीच घम्साघम्सी पनि भएको थियो ।
स्थानीयहरुले प्रहरीहरु माथि लाठी तथा ढुङ्गामुडा गरेपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि ३ राउड हवाई फाईरिङ्ग गरेको थियो । स्थानीय र प्रहरी बीचको झडपमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी जवान विजय यादव घाइते भएका छन् ।
यादवको टाउकोमा गम्भीर चोक लागेको तथा सात वटा टाका लागेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरीक्षक मनोजीत कुँवरले बताए ।