×

वीरगञ्ज ७ श्रावन । पकाहामैनपुर गाउँपालिकामा लगाइएको ताला महिलाहरूले तोडेका छन् । गाउँपालिका उपाध्यक्ष कुसुमी देवीले आफ्नो व्यक्तिगत स्वार्थ पूरा नहुँदा गाउँका महिलाहरुलाई भ्रमित पारेर लगाउँन लगाएको ताला महिलाहरुले नै आएर तोडेका हुन् ।

गाउँपालिकाका अध्यक्ष विजयकुमार चौरसिया र निमित्त प्रमुख कार्यकारी अधिकृत महेश प्रसाद सिंह कार्यालयमा नभएको बेला गाउँपालिकाका महिलाहरुलाई गलत सूचना दिएर उपाध्यक्ष देवीले तालाबन्दी गराउन लगाएकी थिइन । तर, यथार्त बाहिर आएपछि सोहि महिलाको समुहले गाउँपालिका कार्यालयको कामकाज पुन: सुरु गर्ने बुधबार ताला तोडेका छन् ।

गाउँपालिका अध्यक्षले एकतर्फीरूपमा गाउँसभा गरेको र आर्थिक पारदर्शिता नराखेको जस्ता आरोप लगाउँदै श्रावन ४ गते आइतवार २०-२५ महिलाको समुह जम्मा गरेर उपाध्यक्ष देवीले तालाबन्दी गर्न लगाएकी थिइन् ।

उपाध्यक्ष देवीले आफ्नो निजि प्रयोगको लागी गाउँपालिकाबाट गाडी माग्दै आएकी छन् । तर, गाउँपालिका कार्यालयले तत्काल गाडी उपलब्ध गराउन नसक्ने बताएपछि उनले रिसमा गाउँपालिकाको कामकाजमा बाधा पुर्‍याउने उद्देश्यले तालाबन्दी गर्न लगाएको श्रोतले बताएको छ ।

श्रोतका अनुसार असार ३१ गते सम्पन्न भएको गाउँसभामा समेत उपाध्यक्ष देवी सहभागी भएर अन्तिमसम्म बसेको थिइन तर उनलाई गाउँपालिकाबाट गाडी दिने मागमा गाउँसभाका सदस्यले विरोध जनाएपछि उनले अध्यक्ष चौरसियालाई बद्नाम गराउन विभिन्न प्रपञ्च रच्दै आएकी छन् ।

महिलाहरूले ताला तोडेपछि गाउँपालिका कार्यालयको काम कारबाई आजदेखि शुरू भएको छ ।

Back to top