×

वीरगञ्ज ७ श्रावन । यसअघि नेपालको नजिकै रहेको मनसुनको न्यून चापीय रेखा टाढा सर्दै गएकाले आज (बुधबार) देखि वर्षा केही कम हुने अनुमान मौसमविद्ले गरेका छन्। याे रेखा जति नजिक भयाे उति वर्षा बढ्छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोखरेलका अनुसार नेपालेको तराईतर्फ नजिक भएर पूर्वपश्चिम तेर्सिएको न्यून चापीय रेखाको पश्चिमी भाग केही दक्षिण सरेकाले त्यसतर्फ आजैबाट वर्षाको मात्रा घट्ने सम्भावना छ। आज काठमाडौं उपत्यकामा पनि बिहानैदेखि घाम लागेको छ।

‘पूर्वतर्फ भने त्यो रेखा यथास्थानमै (नजिकै) रहेकाले पश्चिमको तुलनामा यता वर्षा अलि बढी नै हुने देखिन्छ,’ बुधबार बिहान मौसमविद् पोखरेलले भने,’ तर पूर्वतर्फ पनि यो रेखा बिस्तारै तल (दक्षिण) सर्ने क्रममै छ, जसले गर्दा यता पनि हिजो अस्तिजस्तो मनसुन ‘एक्टिभ’ (सक्रिय) हुने देखिँदैन।’

उनका अनुसार न्यून चापीय रेखा तल (दक्षिण), माथि (उत्तर) भइरहन्छ। यस आधारमा अब १–२ दिन नेपालमा मनसुन धेरै सक्रिय हुने सम्भावना छैन। तर त्यसो भनेर मनसुनका बेला वर्षा नहुने भन्ने होइन। केही कम मात्र हुने मौसमविद् बताउँछन्।

आज कता-कता कस्ताे वर्षा होला?

मौसमविद् विभूति पोखरेलका अनुसार अहिले (बुधबार बिहान) प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानमा मात्र हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ। भारी वर्षा कतै भएको छैन।

‘यो वर्षा पनि घट्दो क्रममै छ,’ उनले भनिन्, ‘अब अपराह्नपछि मात्रै पुनः बदली भई देशका केही स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।’

मौसम पूर्वानुमान महाशाखाले बुधबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, २, बागमती, ५ नम्बर र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ।

राति पनि देशभर सामान्यदेखि पूर्णसम्म बदली रही केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । प्रदेश १, २, बागमती, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ।

आगामी २४ घण्टा (बुधबार बिहान ६ बजेदेखि बिहीबार बिहान ६ बजेसम्म) लागि चेतावनी तथा परामर्श दिँदै महाशाखाले भनेको छ : वर्षा हुने स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलरपानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

माैसमविद्का अनुसार निरन्तरकाे वर्षाले जमिन भिजि/गलिसकेकाले सामान्य वर्षाले पनि पहिराे जाने तथा बाढी आउने जाेखिम भने रहिरहन्छ।

Back to top