×

वीरगञ्ज १८ असार । पर्साको ग्रामीण क्षेत्रमा विद्युत् नियमित नहुँदा उपभोक्ताहरूले सास्ती भोग्नुपरेको छ । वर्षायामको बेलामा झनै विद्युत् अवरूद्ध हुने गरेको छ ।

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रबाट प्रसारित विद्युत् लाइन अहिले सो केन्द्र अन्तर्गतको क्षेत्रमा नियमित छैन । वर्षायाममा सामान्य पानी पर्दा पनि विद्युत् अवरुद्ध हुने गरेको छ । हावाहुरी, चट्याङ र पानी पर्दा यो क्षेत्रमा विद्युत् नियमित नहुने गरेको ठोरी गाउँपालिका – ४ का सनम श्रेष्ठले बताए ।

उनले विद्युत् नियमित नहुँदा विद्युत्सँग जोडिएको व्यवसाय प्रभावित भइरहेको बताएका छन् । केही महीनादेखि ठोरीलगायत पर्साका ग्रामीण क्षेत्रमा विद्युत् उपभोक्ताहरूले यो समस्या झेल्दै आएका छन्।

ठाउँ–ठाउँमा विद्युत् पोल ढलेको र त्यसलाई मरम्मत गर्नेतर्फ पहल नहुँदा पनि विद्युत् सुचारु नभएको हो । विद्युत् अभावमा किसानहरूले धानखेतीमा सिंचाइ गर्न पनि सकेका छैनन् । सोहि वडाका किसान रामबहादुर श्रेष्ठले विद्युत् नियमित नहुँदा सिंचाइ गर्न नसकेर रोपाइँ प्रभावित भएको बताए । उनले ठाडोलाइनमा रहेको डीप बोरिङबाट सिंचाइ गरी धान रोपाइँ गर्ने तयारी गरेको तर तीन दिनदेखि विद्युत् सुचारु नहुँदा सो काम प्रभावित भएको बताए। डीप बोरिड्ढा लागि विद्युत्बाहेक अहिले यो क्षेत्रमा अन्य वैकल्पिक ऊर्जाको व्यवस्था छैन ।

अर्का किसान टेकबहादुर श्रेष्ठले विद्युत्को कारण रोपाइँ गर्न नसकेको गुनासो गरेका छन् । उनले डीप बोरिङ सञ्चालन नहुँदा तीन दिनदेखि रोपाइँको लागि मजदूर बोलाउने र फिर्ता पठाउने गर्नुपरेको दुःखेसो पोखे । विद्युत् नियमित नहुँदा र भोल्टेज तलमाथि भइरहेको कारण विद्युतीय सामग्रीहरू प्रभावित भएका छन् । यस क्षेत्रका धेरैजनाको टिभी, फ्रिज, पङ्खा र पानी तान्ने मोटर बिग्रिएको छ ।

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले विद्युत् खपत बढेको र फिडरहरूमा समस्या हुने गरेको कारण विद्युत् नियमित नभएको जनाएको छ । लामो समयदेखि यस प्रकारका समस्याहरू झेल्नुपरे पनि वितरण केन्द्रले यसको उचित समाधानतर्फ पहल गर्न सकेको छैन ।

नेपाल विद्युत् प्राधिकरण पोखरिया वितरण केन्द्रले मात्र यस क्षेत्रमा भार थेग्न नसक्दा जीराभवानी गापामा सबस्टेशन निर्माण गरिएको छ तर सबस्टेशन सञ्चालनमा नआएको कारण अहिले पर्साका ग्रामीण क्षेत्रमा बिजुलीको समस्या विकराल बन्दै गएको छ । प्रतीक दैनिकबाट साभार ।

Back to top