वीरगञ्ज १ असार । आजदेखि नारायणी अस्पतालका अन्तरंग सेवाहरु सूचारु हुने भएको छ ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेण्ड डा. मदन कुमार उपाध्यायले जेठ ३२ गते एउटा सार्वजनिक सूचना जारी गर्दै असार १ गतेदेखि कोरोना महामारी अवधिभर आवश्यक भौतिक दूरी कायम गरी सीमित शैया संख्यामा नारायणी अस्पतालको अन्तरंग सेवाहरु पनि सूचारु हुने जनाएका हुन् ।
अस्पतालले जारी गरेको सूचनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाई स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले दिएको निर्देशन अनुसार २०७६ चैत ३० गतेदेखि नारायणी अस्पतालमा कोरोना संक्रमितहरुको उपचार भइरहेकोमा पुनः केन्द्रले पठाएको पत्रानुसार सम्पूर्ण संक्रमितहरु डिस्चार्ज भएपछि २४ औं घण्टा आकस्मिक, डायलसिस तथा बहिरंग सेवा नियमत सुचारु भइसकेको अवस्थामा २०७७ असार १ गते सोमबारदेखि कोभिड–१९ महामारी अवधिभर आवश्यक भौतिक दूरी कायम गरी सीमित शैय्या संख्यामा अन्तरंग सेवा पनि सूचारु हुने उल्लेख गरिएको छ ।