वीरगञ्ज ३२ जेठ । सृजनशील युवाहरुको समुह संस्कृतिको सहयोगमा ग्रीनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरले कोरोना सङ्क्रमणबाट जोगिनको लागि आदर्शनगर, घडीअर्वा क्षेत्रमा सचेतना कार्यक्रम गरेको छ।
केन्द्रका अध्यक्ष प्रकाश खेतानको अध्यक्षता तथा जिप्रका पर्साका प्रनाउ मनोजित कुँवरको प्रमुख आतिथ्यमा आयोजित सचेतना कार्यक्रममा सहभागीहरूले सडकपेटीमा हिंड्ने बटुवाहरू र पसलका सञ्चालकहरूलाई पर्चा वितरण गरेका थिए।
उनीहरूले पसलमा रहेका व्यक्तिहरूलाई अनिवार्यरूपमा मास्कको प्रयोग गर्न, सामान बिक्री गर्दा, नगद लेनदेन गर्दा सेनिटाइज गर्न सुझाव दिएका थिए । पसल खुलेको खुशीमा सङ्क्रमणलाई नजरअन्दाज नगर्न उनीहरूले सुझाए। निर्देशित मापदण्डमा रहेर काम गर्न पसलेहरूलाई सुझाव दिइएको थियो।
कार्यक्रममा वडा प्रहरी कार्यालय बिर्ताका निर्मल पनेरू, एसटिएफका सूर्यनारायण चौधरी, ट्राफिकका कमल नेपाली, व्यवस्थित वीरगंज अभियानका दिलीपराज कार्कीलगायतको सहभागिता थियो।