वीरगञ्ज २९ जेठ । प्रदेश नम्बर २ का मुख्यमन्त्रीे लालबाबु राउत गद्दीको राजीनामा माग गर्दै वीरगञ्जमा नेकपा निकटका युवाहरुले प्रदर्शन गरेका छन् ।
वीरगञ्जमा बिहीबार नेकपा नेकिट युवाहरुले मुख्यमन्त्री लालबाबु राउत गद्दीको पुत्ला दहन गर्दै प्रदेश २ सरकार विरुद्ध नाराबाजी समेत गरेका थिए ।
पुत्ला दहन गर्ने क्रममा केही युवाहरुलाई पक्राउ समेत गरेको थियो तर उनीहरुलाई केही बेरमै रिहा गरिएको थियो । पक्राउ पर्नेमा नेकपा निकट विद्यार्थी सङ्गठनका नेता हेमन्त तामाङ र राज किशोर सिंह पराग रहेका थिए ।
मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारले वीरगञ्जमा पीसीआर मेशिन जडान गर्न नसकेर पर्सेली जनताको जीवनसँग खेलवाड गरेको आरोप लगाउँदै नेकपा निकटका विद्यार्थी र युवा नेताहरुले आन्दोलन गरेका हुन् ।
यता वीरगञ्जमा स्वतन्त्र युवाहरुको समुहले पनि तिनै तहको सरकार विरुद्ध प्रदर्शन गरेको छ । वीरगञ्जको आदर्शनगरमा भएको स्वतन्त्र युवाहरुको प्रदर्शनमा तिनै तहको सरकार विरुद्ध नाराबाजी गरिएको थियो ।
स्वतन्त्र युवाहरुको आन्दोलनको अगुवाई गरिरहेका सामाजिक अभियान्ता जय साहले घण्टाघरमा भएको पुत्ला दहनसँग आफ्नो प्रदर्शनको कुनै सरोकार नभएको बताए । उनले आफूहरुले कुनै राजनीतिक दलबाट आन्दोलन नगरेर स्वतन्त्र रूपमा आन्दोलन गरेको जानकारी दिए ।
साहले केही सञ्चार माध्यमले दुवै आन्दोलन एउटै समुहले गरेको भन्दै आएको समाचार माथि विश्वास नगर्न आग्रह गरे । 'उहाँहरू राजनीतिक दलबाट आबद्ध भएर पुत्ला दहन गर्नु भएको हो,' साहले भने, ' हाम्रो आन्दोलनको कुनै राजनीतिक अजेण्डा छैन् र हुनुपनि छैन ।'