वीरगञ्ज २० जेठ । जनता समाजवादी पार्टीको प्रदेश न. २ की प्रदेशसभा सदस्य डा. अञ्जू कुमारी यादवले आफ्नो एक महिनाको तलब वापत पाउने रकम वीरगञ्ज महानगरपालिकाको कोभिड-१९ विपत व्यस्थापन कोषमा दिने घोषणा गर्नुभएको छ ।
सांसद् डा. यादवले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा पोस्ट लेख्दै वीरगञ्ज महानगरपालिका कार्यालयले कोरोनाभाइरस रोकथाम र नियन्त्रणकालागि पिसिआर मेसिनलगयात अन्य स्वास्थ्य सामग्री खरिद गर्ने सुरु गरेको अभियानमा आफ्नो एक महिनाको तलव दिने घोषणा गर्नुभएको हो ।
उहाँले कोरोनाभाइरस रोकथाम र नियन्त्रणकालागी सबै मिलेर अगाडी बढ्नु विकल्प नरहेको बताउँदै वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीले सुरु गरेको अभियानको साराहन समेत गर्नुभएको छ । ‘मेयर सरावगीले सुरु गरेको अभियान महत्वपूर्ण छ र यो आजको आवश्यकता पनि हो,’ सांसद् डा. यादवले लेख्नुभएको छ, ‘म सबै दाताहरुलाई अगाडी आएर अभियानसँग जोडिन आग्रह गर्दछु ।’
डा. यादवले पर्सा जिल्लामा कोरोनाभाइरसको परिक्षण गर्नु आहिलेको सबै भन्दा ठुलो आवस्यकता रहेको बताउनु भएको छ । उहाँले पर्सामा कोरोनाभाइरसको परिक्षणको दयारा बढाउनु पर्ने विचार व्यक्त गर्दै वीरगञ्ज महानगरपालिकामा एउटा छुट्टै निजि पिसिआर मेसिन खरिद गर्नु उचित र समय सापेक्ष निर्णय भएको तर्क गर्नुभएको छ ।
उहाँले सबैले मिलेर अगाडी बढे कोरोनाभाइरसलाई जित्न सकिने धारणा राख्दै आफ्नो स्थानबाट सबैलाई सतर्कता अपनाउन समेत आग्रह गर्नुभएको छ ।