वीरगञ्ज । मधेश विश्वविद्यालयका उपकुलपति तथा शिक्षाविद् प्रा.डा. दीपक शाक्य उच्च शिक्षाको विकास तथा शैक्षिक क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप सम्मानित हुनुभएको छ।
गोकर्णेश्वर–८, माकलबारीस्थित जया मल्टिपल क्याम्पसले शनिबार काठमाडौंमा आयोजित कक्षा १२ का विद्यार्थीहरूको सम्मान तथा बिदाइ कार्यक्रममा प्रा.डा. शाक्यलाई ‘लेटर अफ एप्रिसिएसन’ सहित दोसल्ला ओढाएर सम्मान गरेको हो।
क्याम्पसले प्रा.डा. शाक्यको दूरदर्शी नेतृत्व, शैक्षिक समर्पण तथा गुणस्तरीय, समावेशी र पहुँचयोग्य उच्च शिक्षाको प्रवर्द्धनमा उहाँले पुर्याएको महत्वपूर्ण योगदानको उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरेको जनाएको छ।
कार्यक्रममा क्याम्पस प्रमुख भवानी पौडेल, जया देवकोटा फाउन्डेशनका अध्यक्ष जगन्नाथ देवकोटा तथा कार्यक्रमका अध्यक्ष देवी घिमिरेले संयुक्त रूपमा सम्मानपत्र र दोसल्ला प्रदान गर्नुभएको थियो। वक्ताहरूले विश्वविद्यालयको संस्थागत सुदृढीकरण, अनुसन्धान, नवप्रवर्तन, सुशासन तथा व्यवहारिक शिक्षाको विकासमा प्रा.डा. शाक्यको भूमिका प्रेरणादायी रहेको उल्लेख गरेका थिए।
उहाँको नेतृत्वले नेपालमा उच्च शिक्षाको गुणस्तर अभिवृद्धि, शैक्षिक संस्थाहरूको सशक्तीकरण तथा मधेश विश्वविद्यालयलाई नवप्रवर्तनमुखी र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धी विश्वविद्यालयका रूपमा विकास गर्ने दिशामा महत्वपूर्ण योगदान पुर्याइरहेको वक्ताहरूको भनाइ थियो।
सम्मान ग्रहणपछि प्रा.डा. शाक्यले क्याम्पस परिवारप्रति आभार व्यक्त गर्दै शिक्षा, अनुसन्धान र नवप्रवर्तनमार्फत सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्न सबै शैक्षिक संस्थाले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यार्थीहरूलाई अध्ययनसँगै सिर्जनशील सोच र अनुसन्धानमुखी संस्कृतिको विकास गर्न प्रेरित गर्नुभयो।
प्रा.डा. दीपकबहादुर शाक्य नेपालका अनुभवी शिक्षाविद्हरूमध्ये एकका रूपमा परिचित हुनुहुन्छ। विशेषगरी वीरगञ्जलाई ‘एजुकेसन हब’का रूपमा विकास गर्ने दीर्घकालीन दृष्टिकोणका साथ उहाँले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ।
उहाँकै नेतृत्व र पहलमा वि.सं. २०५७ सालमा स्थापना भएको वीरगञ्ज पब्लिक कलेज प्रारम्भिक चरणमा करिब एक दर्जन विद्यार्थीबाट सञ्चालन सुरु भएको थियो। आज उक्त कलेज आफ्नै अत्याधुनिक भवनमा तीन हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको मधेश प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ।
शैक्षिक गुणस्तर, आधुनिक शिक्षण पद्धति, अनुशासन र उत्कृष्ट नतिजाका कारण कलेजले राष्ट्रिय स्तरमै आफ्नो विशिष्ट पहिचान बनाउन सफल भएको छ।
हाल मधेश विश्वविद्यालयका पहिलो उपकुलपतिका रूपमा कार्यरत प्रा.डा. शाक्यको नेतृत्वमा विश्वविद्यालयले संस्थागत आधार निर्माण गर्दै शैक्षिक गतिविधि विस्तार गरिरहेको छ। वीरगञ्जस्थित नेपाल ट्रेडिङ लिमिटेडको पुरानो भवनलाई मर्मत तथा व्यवस्थापन गरी पठनपाठन सञ्चालन गरिएको विश्वविद्यालयले सीमित स्रोतसाधनका बाबजुद गुणस्तरीय उच्च शिक्षाको नयाँ केन्द्रका रूपमा आफूलाई स्थापित गर्ने प्रयास गरिरहेको छ।
शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा व्यवहारिक शिक्षामा केन्द्रित प्रा.डा. शाक्यको नेतृत्वले मधेश प्रदेशमा उच्च शिक्षाको नयाँ सम्भावना सिर्जना गरेको भन्दै उहाँको योगदानले वीरगञ्जसहित समग्र मधेश प्रदेशलाई शैक्षिक रूपमा नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरिएको छ।