×

जनकपुरधाम २० जेठ । प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६९५ पुगेको छ। प्रदेशमा सोमबार मात्र ८५ जनामा संक्रमण भएको छ।

सामाजिक विकास मन्त्रालयले पछिल्लो २४ घण्टामा सप्तरीमा १२, सिरहामा ५, धनुषामा ७, महोत्तरीमा २, सर्लाहीमा ३८ र रौतहटमा १८ जना संक्रमित थपिएको जनाएको छ।

सोमबार थपिएका संक्रमित सबै भारतबाट आएर आ–आफ्नो जिल्लाको क्वारेन्टिनमा बस्दै आएका हुन्।

मन्त्रालयको विवरणअनुसार प्रदेश २ को रौतहटमा सबैभन्दा बढी २३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा ३ हजार ५६६ जनाको स्वाब संकलन भएकोमा २३४ जनामा संक्रमण पुष्टि भएको र १ हजार ७५६ जनाको नतिजा आउन बाँकी छ।

सर्लाहीमा ११० जनामा संक्रमण पुष्टि भएको छ। सर्लाहीमा ७५८ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

पर्सामा १०३ जनामा संक्रमण पुष्टि भएको छ भने २८१ जनाको नतिजा आउन बाँकी छ।

धनुषामा ७७ जनामा संक्रमण पुष्टि भएको छ। धनुषामा २ हजार २०३ जनाका स्वाब संकलन भएकोमा १८९ जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ।

सप्तरीमा ५५, सिरहामा ३०, महोत्तरीमा २९बारामा ५४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये हालसम्म ९९ जना निको भइसकेको छ।

Back to top