वीरगंज ८ जेठ । वीरगंज स्थित नारायणी अस्पतालमा डायलिसिस सेवा बन्द गरी नेशनल मेडिकल कलेजमा व्यवस्था गरिएको एक महिनाको अवधिमा ७ जनाको मृत्यु भएको छ ।
पर्साको भौराटार निवासी २५ बर्षिय कृष्णा ठाकुर, अमवा निवासी ६० बर्षिय नन्दलाल महतो, वीरगंज लक्षुमणवा निवासी ६० बर्षिय नागेन्द्र झा, मुर्ली निवासी ४५ बर्षिय नासृन बानु, सर्लाही निवासी ३५ बर्षिय अजय कार्की, गौर निवासी ५० बर्षिय तल्बुन नेसा र २४ बर्षिय रंजित मण्डलको मृत्यु भएको हो ।
संघ सरकारले नारायणी अस्पताललाई कोभिड अस्पताल बनाए पछि अस्पताले बैशाख २ गते देखी आकास्मिक सहित डायलिसिस सेवा बन्द गरेको थियो । नारायणी अस्पतालमा सेवा लिइरहेका सेवाग्राहीहरुले वीरगंज स्थित नेशनल मेडिकल कलेजमा गई सेवा लिन अस्पतालले नै सार्वजनि सुचना मार्फत आग्रह गरेको थियो ।
त्यस पछि बैशाख ३ गते देखि नारायणीको ४० जना डायलिसिस सेवाग्राहीहरु नेशनल मेडिकल कलेजमा गएर डायलिसिस सेवा लिदै आएका छन् । त्यस पछि मेडिकल कलेजमा डायलिसिस लेवा लिदै गरेका ३२ दिनको अवधिमा ४० जना मध्ये ७ जनाको मृत्यु भएको हो ।
समाचार स्रोतका अनुसार नारायणीमा एउटा डायलाइजरबाट २ पटक हुदै आएको डायलिसिस नेशनल मेडिकल कलेजले १० पटक सम्म गर्दै आएको छ । यसका साथै डायलासिस मेसिन फास्ट चलाएर सेवाग्राहिको डायलिसिस गर्नु र डायलिसिस लापरवाही पूर्वक गर्नुले ७ जनाको मृत्यु भएको हो ।
नेशनल मेडिकल कलेजले डायलिसिस सेवाग्राहिलाई सांझ ५ बजे बोलाएर राती ८ बजे देखी ११ बजे पछि मात्र डायलिसिस गरेर दुस्ख दिने गरेको सेवाग्राहीका आफन्तहरुले गुनासो गरेका छन् । कोरोना भाइरसको महामारीको बेला लकडाउनमा समेत रातीको समय सेवा लिन सास्ती भोग्नु परेको एक सेवाग्राहीका आफन्तले गुनासो गरे ।
यस विषयमा अस्पताल प्रशासनसंग बारम्बार गुनासो गर्दा केही सुधार नभएको ति सेवाग्राहीले यात्रा डेलीसंग दुस्खेसो समेत पोखे । यस बिषयमा मेडिकल कलेजका मेडिकल निर्देशक डा. प्रमोद सरार्फसंग फोनमा सम्पर्क गर्दा उनको फोन उठेन ।