वीरगञ्ज, जेठ ८ - वीरगञ्जको बहुअरीमा रहेको गण्डक अस्पतालमा आजबाट नारायणी अस्पतालको शाखाको रुपमा कोरोना संक्रमितको उपचार सुरु भएको छ ।
वीरगञ्ज महानगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि गण्डक अस्पतालसँग एक महिना अघि नै सम्झौता गरेको भए पनि विभिन्न अड्चनकाबीच सञ्चालनमा आउन सकेको थिएन ।
वीरगञ्जमा संक्रमितको संख्या बढ्दै जाँदा संक्रमितको उपचारका लागि ठाउँ अभाव हुन थालेपछि सम्झौता गरेको एक महिनापछि अन्ततः गण्डक अस्पतालमा संक्रमितको उपचार सुरु भएको हो ।
नारायणी अस्पतालकै शाखाको रुपमा गण्डक अस्पताललाई अहिले कोरोना विशेष अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको हो ।
सिद्धार्थ माविमा बनाइएको सेमीआइसोलेसन वार्डमा राखिएका २५ जना संक्रमितलाई आज गण्डक अस्पतालमा लगिएको हो ।
नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड डा.मदन उपाध्यायकै नेतृत्वमा र नारायणी अस्पतालकै शाखाको रुपमा गण्डक अस्पतालमा कोरोना संक्रमितको उपचार थालिएको हो ।
गण्डक अस्पताललाई काेराेना विशेष अस्पताल बनाउने बारे वीरगञ्ज महानगरले गरेकाे सम्झाैता कार्वान्वयन नगराउन विभिन्न चलखेल भए पनि आजबाट अस्पताल सञ्चालन गराउन सफल भएकाे महानगरका मेयर विजय सरावगीले बताउनुभयाे ।