×

काठमाडौँ, जेठ ८ - रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा भेन्टिलेटरमा उपचार गराइरहेका गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश ५ को सामाजिक विकास मन्त्रालयले गुल्मीको मदाने गाउँपालिका- ६ का ४१ वर्षीय संक्रमितको मृत्यु भएको पुष्टि गरेको हो ।

प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले एक विज्ञप्ति जारी गर्दै कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् । उनले कोरोना संक्रमितलाई बचाउने अनेकौँ प्रयास गर्दा पनि बचाउन नसकिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

पेसाले शिक्षक रहेका ती पुरुष अर्घाखाँचीको १ मेडिकलमा स्वास्थ्य परीक्षणपछि क्रिमसन अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्य अवस्था गम्भीर भएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा जेठ २ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनीसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ पुगेको छ । यसअघि सिन्धुपाल्चेककी सुत्केरी महिला र बाँकेका २५ वर्षीय युवकको पनि कोरोनाबाट मृत्यु भएको थियो ।

Back to top