वीरगञ्ज, जेठ ८ - पर्सामा सञ्चारकर्मीलाई सवारी चलाउन विशेष पासको आवश्यकता नपर्ने स्थानीय प्रशासनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले बिहिबार एउटा प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाभाइरस अर्थात कोभिड-१९ नियन्त्रणका लागि लगाइएको लकडाउनको समयमा पत्रकार तथा सञ्चारकर्मीलाई विशेष सवारी पासको आवश्यकता नपर्ने बताएको हो ।
नेपाल सरकारको सूचना विभागबाट उपलब्ध गराइएको परिचय पत्र अथवा सञ्चार माध्यमले उपलब्ध गराएको परिचय पत्रको आधारमा सवारी चलाउन मिल्ने प्रशासनले विज्ञप्ति मार्फत जनाएको छ ।
"राज्यकाे चाैथाै अंगकाे रूपमा रहेकाे पत्रकार जगतकाे हकमा सूचना विभागबाट जारी परिचय पत्र भएमा त्यसैलाइ मान्यता दिइने भएकाेले यसकाे लागि छुट्टै पास लिइरहन अावश्यक नपर्ने र अन्यकाे हकमा पनि समाचार संकलन, सम्प्रेषणकाे काममा हिडेकाे अवस्थामा सम्बन्धित संचार संस्थाबाट उपलब्ध गराइएकाे परिचयपत्रकाे अाधारमा काम गर्न दिइने र कुनै बाधा अवराेध नहुने व्यहाेरा जानकारी गराइन्छ," पर्साका सहाकय प्रमुख जिल्ला अधिकारि ललित कुमार बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सवारी चलाउन बेला कुनै कठिनाई परे प्रशासनसँग समन्वय गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ ।