वीरगञ्ज, जेठ ८ - पर्साबाट संचालित रेडियो संचालकहरुको बैठकले रेडियो सञ्चालनमा स्थानीय प्रशासनले असहयोग गरेको भन्दै साँचो बुझाउने निर्णय गरेका छन् ।
रेडियो सञ्चालकका लागि आवश्य पर्ने जनशक्ति आवतजावतमा स्थानीय प्रशासनले रोक लगाउँदा रेडियो प्रशारणमा नै समस्या परेको भन्दै रेडियोको साँचो बुझाउने निर्णय गरेका हुन् ।
यो महामारीका बेला आफ्नै ज्यानको बाजी राखेर भए पनि रेडियोले सचेतना फैलाउन उल्लेख्य भूमीका निर्वाह गरिरहेका बेला स्थानीय प्रशासनले रेडियो सञ्चालनका लागि जनशक्ति आवतजावतमा रोक लगाउनु उपयुक्त नभएको भन्दै प्रशारण बन्द गरेर रेडियोको साँचो बुझाउने निर्णय गर्न बाध्य हुनुपरेको रेडियो वीरगञ्जका संचालक ध्रुव साहले बताउनु भयो ।
बैठकले भोलि बिहानसम्म स्थानीय प्रहरी प्रशासनको रबैयामा सुधार नआए भोलि साँझ ५ बजेदेखि ७ बजेसम्म २ घण्टा रेडियोको सम्पूर्ण प्रशारण बन्द गर्ने र पर्सि स्थानीय प्रशासनलाई चाबी बुझाउने निर्णय गरेको बैठकमा सहभागी ब्रोडकास्टिङ एशोसियशन बानका प्रदेश २ संयोजक आरसी यादबले बताउनु भयो ।
यस्तै सामाजिक दूरी कायम गर्दै न्यून जनशक्तिमा आवश्यक सुरक्षा व्यवस्था मिलाएर बाहिरी आवतजावतलाई पनि रोक लगाईँदै रेडियो सञ्चालन गर्ने पनि बैठकले निर्णय गरेको छ । अहिले पनि न्यून जनशक्ति र आवश्य सुरक्षा अपनाएर सबै रेडियोले प्रशारणको व्यवस्था मिलाएका छन् ।
नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानको विशेष उपस्थितिमा बसेको बैठकमा ब्रोडकास्टिङ एशोसिएसन नेपाल (बान) प्रदेश २ का संयोजक एवं रेडियो बिन्दासका सञ्चालक आरसी यादब, सामूदायिक रेडियो प्रसारक संघका केन्द्रीय सदस्य एवं रेडियो तराईका सञ्चालक अजय यादब, रेडियो वीरगञ्जका संचालक ध्रुब साह, पब्लिक एफ.एमका सञ्चालक राजेन्द्र सिंह, आवाज एफ.एमका संजिव मिश्र, रेडियो सान्भीका प्रबन्धक नवराज फुयाल, भोजपुरिया एफ.एमका सुनिल खेतान, रेडियो समग्र मधेसका श्यामप्रसाद गुप्ता लगायतको सहभागिता रहेको थियो ।
बैठकमा सहभागी हुन नसके पनि आकास एफ.एमका अनुप तिवारी, रेडियो बिजय बस्तिका सन्तोष श्रेष्ठ, ईन्द्रेणी एफ.एमका बिनोद रौनियारले पनि बैठकको निर्णयमा ऐक्यबद्धता जनाएका छन् ।