×

वीरगञ्ज, जेठ ७ – कृषि टिभी नेपालले मधेसी वर्गको खिल्ली उडाउदैं अपमानित गरेको भन्दै प्रदेश २ सरकारले कारवाहीको माग गरेको छ ।

प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दिपेन्द्र झाले आज केन्द्रिय सुचना तथा सन्चार मन्त्रीलाई पत्र लेख्दै कानुन बमोजिम कारवाहीको माग गर्नुभएको हो ।

उक्त टिभीको “कोरोना बिर्साउने गफगाफ” कार्यक्रमको हिजो प्रसारित इपिसोडमा प्रयोग भएको शब्द र सांकेतिक हाउभाउप्रति आपत्ति जनाउदैं प्रदेश २ सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

नेपालको वर्तमान संविधानको विभिन्न धारा र उपधारामा व्यवस्था भए विपरीत सो टिभीको कार्यक्रममा कानुन उल्लङ्घन गरी वर्ग विशेषलाई अपमान गर्ने र होच्याउने काम गरिएको पत्रमा उल्लेख छ ।

जनताको संवैधानिक र कानुनी हक संरक्षण गर्न विभेदकारी कार्यक्रम निर्माण र प्रसारणमा रोक लगाउन मुख्य न्याधिवक्ता झाले केन्द्रिय सन्चारमन्त्रीसँग माग गर्नुभएको छ ।

Back to top