वीरगञ्ज, जेठ ७ - कोरोना संक्रमणको उच्च जोखिममा रहेको पर्सा जिल्लामा भिटिएम अभावका कारण पिसिआर जाँच एक सातादेखि प्रभावित भएको छ । पर्सामा हाल सम्म ९१ जना संक्रित भेटिएका छन् ।
संक्रमितहरुको कन्टयाक्ट ट्रेसिङ गरी सम्पर्कमा रहेकाको पहिचान भइसकेको भए पनि भिटिएमको अभावले पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न नसकिएको स्वास्थ्यकर्मीले बताएका छन् । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायका अनुसार संक्रमितहरुको कन्टयाक्ट ट्रेसिङ गरी सम्पर्कमा रहेका करिब ५ सय जनाको पहिचान भइसक्दा पनि उनीहरुको स्वाब संकलन हुन सकेको छैन ।
भिटिएमको अभावका कारणले नै ती सबैको स्वाब संकलनमा समस्या भएको उनले बताए । भिटिएम अभावकै कारण यो साता केही दिन स्वाब संकलन कार्य नै रोकिएको पनि उनले बताए । उनले भने, ‘मङ्गलबार बेलुकी स्वास्थ्य मन्त्रालयबाट १ हजार भिटिएम आइपुगेपछि बुधबारदेखि गाँउतिर मात्रै स्वाब संकलन कार्य पुन सुरु गरेका छौँ तर वीरगञ्ज महानगरमा भने अझै सुरु गर्न सकिएको छैन ।'
मङ्गलबार बेलुकी १ हजार भिटिएम आएपछि स्वाब संकलनका लागि बुधबार तीन वटा टोली जिल्लाको ग्रामीण भेगका क्वारेन्टाइनमा पठाएको उनले बताए ।
वीरगञ्ज महानगरपालिकामा भने स्वाब संकलन कार्य अझै पनि सुरु गर्न सक्ने अवस्था नरहेको उनले जानकारी दिए । 'एक त स्वास्थ्यकर्मी पनि सिमित छन्, भिटिएमको पनि अभाव छ त्यसैले वीरगञ्जमा अहिले तत्कालै स्वाब संकलन गर्न सक्ने अवस्था छैन', उनले भने, ‘बुधबार गाँउमा पठाएको टोली त्यहाँ काम सकेर फर्किएपछि भिटिएम बाँकी रहेको खण्डमा मात्रै वीरगञ्जमा स्वाब संकलन गर्न सकिन्छ ।'
मेसु उपाध्यायका अनुसार पर्सामा संक्रमितको कन्टयाक्ट ट्रेसिङमा अहिलेसम्म ४ सय ७० जना छन् । वीरगन्ज ३ छपकैयामा ६०, वीरगञ्ज १६ इनर्वामा २६, जीराभवानी गाँउपालिकामा ८८, पटेर्वासुगौली गाँउपालिकामा ६०, जगरनाथपुर गाँउपालिकामा ३६, पाकाहामैनपुर र सखुवा प्रसौनी गाँउपालिकामा गरि १ सय र छिपहरमाइ गाँउपालिकामाा १ सय जना गरी ४ सय ७० जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्न बाँकी रहेको मेसु उपाध्यायले जानकारी दिए ।
'अस्पतालमा उपचाररत संक्रमितको पनि पुन परीक्षण गर्नुपर्ने छ। उनीहरुको सम्पर्कमा रहेका अरु थुप्रैको पनि कन्टयाक्ट ट्रेसिङ गर्न बाँकी नै छ', मेसु उपाध्यायले भने, ‘मन्त्रालयले मङ्गलबार पठाएको १ हजार भिटिएम हात्तीको मुखमा जीरा जस्तै हो ।'
पर्सामा अहिले प्रत्येक २ दिनमा कम्तीमा पनि २ सय थान भिटिएम आवश्यक रहेको भन्दै मेसु उपाध्यायले भने, ‘तर मन्त्रालयले मागेको जति पठाइ दिएको छैन , काम गर्न निक्कै समस्या भइरहेको छ ।' जिल्ला स्वास्थ्य कार्यालय पर्साका एक अधिकृतका अनुसार ५ हजार थान भिटिएम माग गरिएकोमा मन्त्रालयले मङ्गलबार १ हजार थान मात्र पठाएको हो । ती अधिकृतले भने, ‘पर्सामा बढ्दो संक्रमण दर अनुसार पिसिआर परीक्षणका लागि तत्काल कम्तीमा पनि ५ हजार भिटिएम चाहिन्छ ।'