×

वीरगञ्ज, जेठ ७ - आदर्शनगरस्थित चित्रलेखा स्टुडियोमा गत सोमवार राति भएको घटनाप्रति बाल अधिकार संवद्र्धन अभियान समिति, पर्साले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

शङ्कास्पद अवस्थामा दुईजना बालिका र तीनजना पुरुष पक्राउ परेकोमा उनीहरूलाई प्रहरीले कारबाई गर्नुको साटो सार्वजनिक मुद्दा दर्ता गरेपछि समितिले ध्यानाकर्षण भएको जनाएको छ। घटना अनुसार निषेधाज्ञा अवधिमा सोमवार दिउँसो आदर्शनगरमा रहेको चित्रलेखा स्टुडियोमा दुईजना बालिका प्रवेश गरेका थिए । स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी स्टुडियोमा पुग्दा भित्रबाट बन्द रहेको स्टुडियो खोल्न लगाइ स्टुडियोभित्र रहेको फल्स बटनभित्र दुईजना बालिका लुकेको अवस्थामा भेटिएपछि प्रहरीले स्टुडियो सञ्चालक बैजु प्रजापतिसहित पाँचजनालाई नियन्त्रणमा लिएको थियो । शङ्कास्पद अवस्थामा भेटिएका बालिकाको स्वास्थ्य परीक्षणसमेत नगराइ परिवारको जिम्मा लगाएको तथा तीनजना पुरुषलाई सार्वजनिक मुद्दा दर्ता गरेपछि प्रहरीको चौतर्फी आलोचना भइरहेको छ ।

स्रोतको अनुसार सञ्चालक बैजु प्रजापतिले एक मिनेटसम्मको अश्लील भिडियो बनाउने गरेको स्थानीयले जानकारी गराएका थिए । बालिकाहरूलाई प्रलोभन देखाइ भिडियो बनाउने र ती भिडियो बाहिर पठाउने गरेको जनगुनासो आएपछि प्रहरीले स्टुडियोमा छापामारी गरेको हो ।

यस विषयमा पर्सा प्रहरीले प्रमाण नहुँदा कारबाई गर्न समस्या भएको प्रतिक्रिया दिएको छ । घटनामा संलग्न बालिकाहरूले स्टुडियो सफाइको लागि आफूलाई बोलाएको भनी बताएको प्रहरीको भनाइ छ। तर प्रहरीले फल्स बटनमा लुकाइराखेको अवस्थामा दुईजना बालिकालाई पक्राउ गर्दा अन्य मुद्दा लगाउने पर्याप्त आधार भएपनि प्रहरीले सो घटनालाई दबाउन खोजेको आरोप लगाइएको छ ।

प्रतीक दैनिकबाट साभार ।

Back to top