×

वीरगञ्ज, जेठ ४ - कोरोना भाईरस कोभिड—१९ को हटस्पटको रुपमा रहेको वीरगञ्जमा अहिले ९६ जना आईशोलेशनमा उपचार गराईरहेका छन् ।

नारायाणी अस्पतालमा ७१ जना र २५ जनाको सिद्धार्थ माध्यामिक विद्यालयमा बनाईएको सेमी आईशोलेसनमा उपचार भईरहेको छ ।

कोरोना संक्रमितहरुलाई रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि विभिन्न पौष्टिक तत्व भएका पोषणयुक्त खान खानुपर्ने चिकित्सकको सुझाव रहेपनि नारायणी अस्पतालमा रहेका कोरोना संक्रमितहरुलाई अस्पतालले पोषण रहित खाना खुवाएको विषय समाचार र सामाजिक सञ्जालमा निकै चर्चाको विषय बनेको छ ।

संक्रमितहरु राखिएको नारायणी अस्पतालको आइसोलेसन अहिले दुईजना पत्रकारहरु पनि रहेकाले सामाजिक सञ्जालमा मात्रै होईन पोषण रहित खाना खुवाएको समाचार नै आएको छ । संक्रमित मध्यका एक अनलाईन खबरका संवाददाता सुरेश विडारीले सामाजिक सञ्जाल फेसबुकमा चाऊचाऊ खाएर कोरोनासँग लडिरहेको फोटो पोष्ट गरेका छन ।

संक्रमित मध्य बालबालिका पनि रहेकोले उनीहरुलाई भूजा र तरकारी दिईएको फोटो सामाजिक सञ्जालमा भाइरल भएका छन् । आइसोलेसनमा राखिएको कोरोना संक्रमितहरुलाई भूजा र बिस्कुट लगायतका पोषण रहित खाना खुवाएको भन्दै धेरैले सामाजिक सञ्जालमा आलोचना गरेका छन् । सामाजिक सञ्जालमा व्यावस्थापनप्रति निकै कडा आलोचना र टिप्पणीहरु पनि गरेका छन् ।

नारायणी अस्पतालले कोरोना संक्रमितहरुको लागि खाना खुवाउने व्यावस्थापनमा एकजना पोषण विज्ञ सहितको टोली राख्नुपर्ने भएपनि अस्पतालले पोषण विज्ञ विनाकै व्यक्तिलाई खानाको व्यावस्थापनको जिम्मा दिएको अस्पताल स्रोतले जनाएको छ ।

कोरोना संक्रमितहरुलाई समय तालिका बनाएर पोषणयुक्त खानेकुराहरुको मात्रा मिलाएर दिनुपर्ने भएपनि पोषण विज्ञ नराखी अनुभव नै नभएका व्यक्तिलाई डियुटी गराउनका लागि मात्रै अस्पतालले खटाएको छ ।

यसैबीच अस्पतालका संक्रमितहरुको लागि खाना, खाजाको व्यावस्था सोमबारदेखि भने सामाजिक संस्थाको जिम्मा दिने भएको छ । अस्पतालका कोरोना संक्रमितहरुको खाना, खाजा व्यावस्थापनका लागि सानोपाईलाले आशय देखाएकोले नारायणी अस्पताल र स्थानीय प्रशासनको समन्वयमा सानोपाइलाले जिम्मा लिने भएको हो ।

सानो पाइलाले शनिबार एउटा प्रेस विज्ञप्ति जारि गर्दै नारायणीमा रहेका कोरोना संक्रमितहरुलाई खाना खुवाउने जिम्मा आफुहरुले लिएको जनाएको । संस्थाले संक्रमित र फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मी दुवैका लागि आफुहरुले भोजनको व्यवस्थापन गर्ने जनाएको छ ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले अस्पतालमा खाना, खाजाको विषयमा उठेको गम्भीर विषयलाई ध्यानमा राखेर संक्रमितहरुलाई खाना, खाजाको राम्रो प्रबन्ध जसले गरेपनि समन्वय गरिदिन स्थानीय प्रशासन तयार रहेको बताउनु भयो ।

Back to top