×

वीरगञ्ज, जेठ ४ - वीरगञ्जका कोरोना सङ्क्रमितहरुको उपचार अब बहुवरीस्थित गण्डक हस्पिटलमा हुनेभएको छ ।

वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीको विशेष पहलमा गण्डक हस्पिटललाई कोभिड अस्पतालमा रुपान्तरण गरिएको हो । नगरप्रमुख सरावगीले शनिबार नारायणी अस्पतालको प्रशासनलाई गण्डक हस्पिटल हस्तान्तरण गरेका हुन् ।

नारायणी अस्पतालको सहजीकरणमा गण्डकको कोरोना अस्पताल सञ्चालनमा आउने भएको छ । वीरगञ्ज महानगरका नगरप्रमुख विजय सरावगीले आफ्नो डेढ महिना देखिको प्रयास सफल भएको बताउँदै खुशी व्यक्त गरे । गण्डक अस्पतालमा ७० बेडको आइसोलेसन त्यार भएको नगरप्रमुख सरावगीले बताए ।

'हामीले गण्डकमा ७० बेडको व्यस्थापन गरेर नारायणी अस्पताललाई हस्तान्तरण गरिसकेका छौँ, नगरप्रमुख सरावगीले भने, 'अब सङ्क्रमितहरुलाई नारायणी अस्पतालको व्यस्थापनले ल्याएर उपचार सुरु गर्न मात्र बाकी छ ।'

नगरप्रमुख सरावगीले गण्डकमा कोभिड अस्पताल सञ्चालन गर्न लाग्ने सम्पूर्ण खर्च वीरगञ्ज महानगरपालिका कार्यालयले व्यहोर्ने जानकारी दिए । तर, गण्डक अस्पतालले महानगरपालिकालाई अस्पताल नि:शुल्क रुपमा उपलब्ध गराउने घोषणा गरेको थियो ।

वीरगञ्ज महानगरपालिका कार्यालयले लगभग डेढ महिना अघि गण्डक हस्पिटलसँग कोरोना अस्पताल सञ्चालन गर्ने बारे सम्झौता गरेको थियो । सम्झौता भएपनि स्वास्थ्य मन्त्रालयको अनुमति र विभिन्न राजनीतिक चलखेलका कारण सम्झौता कार्यन्वयन भने हुन् सकेको थिएन ।

गण्डक हस्पिटलका सञ्चालक नेकपाको वीरगञ्ज महानगर कमिटीका अध्यक्ष रहबर अन्सारी हुन् ।

Back to top