×

वीरगञ्ज. जेठ १ - पर्साको ठोरी गाउँपालिकास्थित नेपाल भारत सिमामा काँडेतार नलगाइएको गाउँपालिका कार्यालयले जनाएको छ ।

सिमावर्ती भारतीय जङ्गलबाट आउने जनावरले बालिनाली नष्ट गर्ने गरेकोले जनावरलाई रोक्न तारवार लगाइए पनि सिमामा काँडेतार भने नलगाइएको गाउँपालिका कार्यालयले प्रष्ट गरेको हो ।

ठोरी गाउँपालिकाका अध्यक्ष पदमाला श्रेष्ठले नेपाल भारत सिमाको दशगजामा काँडेतार लगाएको भनेर केहि समाचार माध्यमले लेखेको खबर झुटो भएको बताए ।

उनले भारतसँग सिमा जोडिएका उक्त क्षेत्रमा जङ्गली जनावर आउने गरेको तारबारको विषयलाई उठाएर केहि संचार संस्थाले भ्रामक संचार प्रकाशित गरेको प्रति आपत्ति समेत व्यक्त गरे ।

"तारबार गरिएको हो तर सिमा अतिक्रमण रोक्नका लागि नभएर भारत र आसपासका जङ्गलबाट आउने जनावरलाई रोक्नका लागि लगाइएको हो, अध्यक्ष श्रेष्ठले भने, 'यो हाम्रो अधिकार क्षेत्र भित्र पर्ने विषय नै हैन, भारतीय जङ्गलबाट आएका जनावरले बालिनाली नष्ट नगरुन भनेर त्यसलाई रोक्न तारबार लगाएका हौँ ।'

अध्यक्ष श्रेष्ठले तिन वर्ष अघि गरिएको तारवारको तस्विर र खबर अहिले आएर भाइरल हुँदा आफै अचेत भएको बताए । 'जङ्गली जनावरलाई रोक्न हामीले विगत ३ वर्ष देखि दशगाजा क्षेत्रलाई छोडेर हामीले तारबार लगाउदै छौँ, श्रेष्ठले भने, 'अहिले आएर कहाँबाट यो खबर र फोटो भाइरल भयो मैले आफै बुझ्न सकेको छैन ।'

Back to top