वीरगञ्ज, जेठ २ - पर्सामा कोरोना संक्रमित भागेमा सुरक्षाकर्मीले गोली समेत हान्न पाउने भएका छन् ।
बुधबार संकट व्यवस्थापन केन्द्रको बैठकले सुरक्षाकर्मीहरूलाई अस्पतालबाट भाग्ने कोरोना संक्रमितलाई गोली हान्ने अधिकार दिएको हो ।
सो निर्णयको बारेमा पर्साका एसपी गंगा पन्तले पुष्टि गरेकी छन् । 'हिजोको बैठकले हामीलाई अधिकार दिएको हो,' एसपी पन्तले भनिन्।
गत बुधबार वीरगञ्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट शौचालय जाने बहानामा दुई जना संक्रमित भेन्टिलेसन फोडेर भागेका थिए ।
प्रहरीले उनीहरूलाई सोही दिन पक्राउ गरेको थियो ।
उक्त घटनालाई मध्यनजर गर्दै केन्द्रले अस्पतालबाट भाग्न नदिन यस्तो निर्णय गरेको हो । सुरक्षाकर्मीलाई संक्रमित भागेमा नियन्त्रण लिन आवश्यकता अनुसार बल प्रयोग गर्ने तथा गोली समेत चलाउन पाउने अधिकार दिने निर्णय गरेको हो।
उक्त बैठकको अध्यक्षता प्रमुख जिल्ला अधिकारी विष्णुकुमार कार्कीले गरेका थिए । बैठकमा नारयणी अस्पतालका डा. मदन उपाध्याय, प्रमुख सेनानी मदनजंग राणा,प्रहरी उपरीक्षक गंगा पन्त, सशस्त्र प्रहरी उपरीक्षक दिपेन्द्र कुँवर लगायत सहभागी थिए ।